relans
ni new 83
nib 2082 5

थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै

Janjati Khabar | २०८१ श्रावण २५, शुक्रबार

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलाली र कञ्चनपुरमा धुमधामसँग मनाइरहेका छन् । खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाइ गाउँको दक्षिण पट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको थारु नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वाससमेत रहिआएको छ ।” गुरही सेलाउने काम सकिएपश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा प्रसादका रुपमा एकआपसमा बाँढीचँुडी खाने र नाचगानगरी रमाइलो गर्ने प्रचलन रहेको उहाँले बताउँनुभयो । थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्वद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको सखी सञ्जाल कैलालीकी संयोजक उन्नती चौधरीले बताउँनुभयो । “विशेषगरी ‘गुरही’ एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाइनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उहाँले भन्नुभयो, “यसै गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाई गाउँको चोकमा सेलाउने (असरैना) गर्दछन् र पुरुष सेलाएको गुरियालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध र नराम्रो चिज लैजा भनेर जोरजोरले कराउने प्रचलन रहेको छ ।” यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रुपमा पनि लिने गरेको छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाँक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको थारु अगुवाहरुले बताएका छन् । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाँउमा भएको दुख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । परापूर्वकालदेखि यो पर्व थारु समुदायले नागपञ्चमीको दिनमा मनाउँदै आएकाले यो पर्वसँगै अन्य पर्वको सुरुआत हुने गरेको थारु कल्याणकारिणी सभाका पूर्वसभापति माधव चौधरीले बताउनुभयो । उहाँले यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको उल्लेख गर्नुभयो । त्यसैगरी यस पर्व मनाउन सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणी सभा धनगढी नगरसमिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिला सभा कैलालीलगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यो पर्व मनाउँन कार्यक्रमको आयोजना नै गरिएको छ । त्यस्तै जिल्लामा थारु बसोबास भएका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा गुरही पर्व मनाइरहेका छन् । यो पर्व थारु समुदायले विगत १५ वर्षदेखि धनगढीको क्याम्पस चोकमा भव्यताका साथ मनाउँदै आएको बताइएको छ । थारु समुदायले मनाउने गरेको सो पर्वका अवसरमा आज जिल्लाका स्थानीय तहले यहाँ सार्वजनिक बिदासमेत दिएका छन् ।

 

Categorized in राष्ट्रिय
ppp 2