STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिविका क्याम्पसहरु खुले • भदौ पहिलो साताबाटै परीक्षाहरु लिइने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार

काठमाडौं - लकडाउन  हटाइएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु खुलेका छन् ।  क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले एक सुचना जारी गरी जनाएकाे छ । साउन ६ लकडाउन खुलेसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेदेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द थिए । त्यसबखत हुन लागेका परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो । गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।
Categorized in शिक्षा