STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिमूर्ति निकेतनले मनाए लेखनाथ पौड्याल जयन्ती

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष १५, आइतबार

नेपालको वाङमय क्षेत्रमा अग्रणी स्थानमा रहेको त्रिमूर्ति निकेतनको तत्वावधानमा  कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्ती समारोह सम्पन्न गरेको छ।  सो समारोहमा त्रिमुर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नु भएको थियो ।

सोही अवसरमा उहाँले त्रिमुर्ति निकेतन परिसरमा रहेको नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नु भयो । 

सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हो भन्नु भयो ।

कार्यक्रममा यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गर्नुभएको थियो ।

लेखनाथ पौडयालको सङ्क्षिप्त परिचय

लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । 

२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।

लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो । 

२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौडयाललाई रथारोहण गराइएको थियो । 

पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए । ती कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् ।

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो ।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो । 

२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो ।

Categorized in साहित्य-कला