STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ गते काठमाडौंमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ३१, बुधबार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा  तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आगामी २०८३ साल साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरिने भएको छ ।  

काठमाडौंको नयाँबजारमा यस विषयमा   सम्पन्न बैठकमा सम्मेलनको प्रारम्भिक योजना तथा कार्यक्रमबारे फोनिजका महासचिव समीर बलामी ले कार्ययोजना प्रस्तुत गरेका थिए। सम्मेलनमा विश्वका करिब ४० देशमा मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई सहभागी गराउने लक्ष्य राखिएको जानकारी दिइयो।

चारदिने सम्मेलनअन्तर्गत प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुति, सांस्कृतिक झाँकी प्रदर्शन तथा नेपालका पर्यटकीय स्थलहरूको अवलोकन गराइने कार्यक्रम प्रस्ताव गरिएको छ। साथै सहभागीलाई नेपालका रैथाने परिकारको स्वाद चखाउने तथा त्यसको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने योजना पनि रहेको छ।

सम्मेलनको मुख्य उद्देश्य मातृभाषा पत्रकारिताको विकास गरी व्यावसायिक बनाउने, सरकारी नीतिमा मातृभाषा पत्रकारिताको महत्त्व स्थापित गराउने तथा सम्मेलनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको मातृभाषा पत्रकारिताको उपलब्धिको प्रचार–प्रसार गर्ने रहेको आयोजकहरूले बताएका छन्। यसका साथै भाषा, लिपि, संस्कृति, संस्कार तथा सम्पदाको संरक्षण र अध्ययन–अन्वेषणमा समेत सम्मेलनले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई पटक अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भइसकेका छन्। ती सम्मेलनहरूमा सार्क जर्नलिस्ट फोरम र फोनिज ले सहकार्य गरेका थिए।

तयारी बैठकमा नेवाः पत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, केके मानन्धर, राजु नापित, प्रजित शाक्य र तेज नारायण महर्जन तथा फोनिजका लक्की चौधरी, समीर बलामी, अर्जुनबहादुर तामाङ, प्रविण श्रेष्ठ, प्रदीप लेखी, अमिर लामा, राजु राजदेव बज्राचार्य   , प्रविण किराँती लगायतको सहभागिता रहेको थियो।

Categorized in राष्ट्रिय