STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन जनालाई त्रिमूर्ति पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २७, शनिबार

त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२२ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरियो । 

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव अवस्थीले प्रा.मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र  जयप्रसाद पाण्डेलाई पुरस्कार प्रदान गरे ।

छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरियो ।

त्यसै गरी नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति  हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको सम्बर्ध्दन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत श्री जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा.मुकुन्दशरण उपाध्याय, श्री हरिबहादुर थापा, श्री जयप्रसाद पाण्डे तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्नो मन्तव्य प्रकट गर्नुभयो ।

Categorized in साहित्य-कला