STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २१, बुधबार

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।

ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्। भूकम्पका कारण पहाडी भेगमा पहिरो गएको छ।

ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन्। त्यहाँ उद्धारकार्य जारी छ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।

राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ।

"यो भूकम्प जमिननजिकै र जमिनको सतहबाट पनि नजिकै गयो। यो ताइवानभरि र अरू टापुमा पनि महसुस भयो...। यो २५ वर्षयताको सबैभन्दा शक्तिशाली भूकम्प हो," ताइवानको भूकम्पमापन केन्द्रका निर्देशक वु चिएन फुले भने।

स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो। त्यसपछि ४ म्याग्निट्यूड वा सोभन्दा माथिका अरू परकम्प मापन गरिएको अधिकारीहरूले जनाएका छन्।

आवासीय भवनहरू भत्केका र मानिसहरूलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएको दृश्य देखिने भिडिओ स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन्।

ताइवानमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको विवरण आएको छ।

चीनको दक्षिणपूर्वी फुजिएन प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

आपत्कालीन सेवा प्रदान गर्ने ताइवानको सरकारी निकायका अनुसार ह्वालिएन सहरबाहिर अवस्थित एउटा राष्ट्रिय निकुञ्जमा एक जनाको गएको छ भने तीन जना घाइते भएका छन्।

सो निकायका अनुसार ह्वालिएन सहरमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने केही भवन र सुरुङमार्गमा फसेका छन्।

चिप निर्माण गर्ने कम्पनी टीएसएमसीले कर्मचारीको सुरक्षाका लागि आफ्ना कारखानाहरू खाली गराइएको जनाको छ। टीएसएमसीले एपल र एन्भिडिआजस्ता प्रविधि कम्पनीलाई सेमिकन्डक्टर आपूर्ति गर्छ।

बीबीसी 

Categorized in अन्तर्राष्ट्रिय