डी सिने अवार्डमा बिजय बराल र स्वस्तिमा खड्का सर्वाेत्कृष्ट
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ २२, शुक्रबार
१७ औं छायाँछबि डी सिने अवार्डमा ‘अञ्जीला’ सर्वाेत्कृष्ट फिल्म घोषित भएको छ । बिहीबार चलचित्र बिकास बोर्डमा सम्पन्न अवार्डमा ०८१ सालभरि प्रदर्शन भएका ५९ फिल्म मध्ये सर्वाेत्कृष्ट निर्देशक मिलन चाम्ससहित ‘अञ्जीला’ ले दुई अवार्ड जितेको हो ।
सर्वाेत्कृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारङ्गी’ बाट बिजय बरालले जिते भने अभिनेत्रीको अवार्ड ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्काले हासिल गरिन् । सर्वाेत्कृष्ट स्क्रिप्ट ‘सतीदेवी’ फिल्मका लागि लक्ष्मण सुवेदीले जिते । त्यसैगरी, ‘कार्साङ’ फिल्मबाट जीतु नेपालले सर्वाेत्कृष्ट सहअभिनेताको अवार्ड जिते ।
सर्वाेत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले जिते । यही फिल्मका लागि बन्देप्रसादलाई सर्वाेत्कृष्ट सम्पादक र निर्देशक कृषा चौलागाईलाई जुरी अवार्ड प्रदान गरियो ।
बिगत १७ बर्षदेखि निरन्तर आयोजना हुदै आइरहेको अवार्डमा यसपालि निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई छायाँछबि चलचित्रकर्मी रजत सम्मान अर्पण गरियो । नगद रु १५, ५५५।– राशीको छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार सचित खड्कालाई प्रदान गरियो ।
सर्वाेत्कृष्ट गायकको अवार्ड ‘छक्का पञ्जा ५’ को बिहे भा’को छैन बाट सविन सुवेदीले जिते भने सर्वाेत्कृष्ट गायिकाको अवार्ड पनि सोही गीतबाट बेनिशा पौडेलले प्राप्त गरिन् । संगीतकारको अवार्ड भने ‘ज्वाइँसाब’ फिल्मको कसम बत्तिको..बाट अर्जुन पोखरेलले जिते । सर्वाेत्कृष्ट कोरियोग्राफरको अवार्ड रामजी लामिछानले ‘दुखी आत्मा’ फिल्मबाट जिते ।
त्यसैगरी, डायस्पोरा फिल्ममा ‘तेल भिषा’ फिल्म सम्मानीत भयो भने सोही फिल्मबाट ऋचा घिमीरेले सहअभिनेत्रीको अवार्ड जित्दा ‘एक्टर टेक १’ बाट राजबल्लभ कोइरालाले प्राप्त गरे । द्धन्द्ध निर्देशकको अवार्ड भने एक्टर टेक वन बाट नै अष्ट महर्जनले जिते । डेब्यु निर्देशकको अवार्ड चन्द्र पन्तले ‘ह्रस्व दीर्घ’ बाट प्राप्त गरे ।
चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसीको प्रमुख आथित्यतामा सम्पन्न अवार्ड समारोहमा छायाँछबि कृएसनका अध्यक्ष शान्तिप्रियले नेपालमा डिजिटल प्रबिधिमा चलचित्र निर्माण हुन सुरु भएसँगै डी सिने अवार्ड सुरु गरिएको स्मरण गर्दै डिजिटल सिनेमाको प्रबद्र्धनमा अवार्डले टेवा पुर्याएको बिश्वास ब्यक्त गरे ।
प्रमुख अथिति डिसीले डी सिने अवार्ड आयोजना गर्दाको सुरुवाती चरणका दिन र सोचहरु उजागर गर्दै निरन्तर यति लामो यात्रा गर्नु दीर्घकालीन सोचको परिणम भएको बताए । उनले यसप्रकारका अवार्ड समारोहले नेपाली चलचित्रको बिकास क्रमलाई अघि बढाउने निकै ठूलो सहयोग गरेको धारणा ब्यक्त गरे ।
समारोहमा हाँस्य कलाकार गोपाल ढकाल, अभिनेत्री तेजुला खतिवडा, ब्यबसायी तथा समाजसेवी बिश्वराम मकजु, निर्देशक अमरबहादुर ओली, अभिनेत्री गीता नेपाल, मोडल अस्मिता पुरीलगायतलाई छायाँछबि कला सम्मान प्रदान गरिएको थियो । अवार्डको जुरी सल्लाहकार मा बरिष्ट चलचित्रकर्मी मोहन निरौला, बरिष्ट चलचित्र पत्रकार बिजय रत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ, अभिनेत्री सोभिता सिम्खडा थिए । अवार्ड समारोहको होस्ट बिगतमा झै निराजन भण्डारी नै थिए ।
Categorized in सिनेमा

