डा. वानीरा गिरीको निधन
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १०, सोमबार
नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको आइतबार राति १० बजे निधन भएको छ । काठमाडौँ बानेश्वरको सिभिल अस्पताल पुर्याएको आधा घन्टामा नै उनको निधन भएको थियो । लामो समयदेखि मधुमेहको शिकार उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पिडीत थिइन् । साथै विगत तीन वर्षदेखि उनी अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् । उनको निधन कोरोना सङ्क्रमणले भएको कुरा वानीरा फाउन्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
डा.गिरीका पति इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छामा २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भएको थियो । सो फाउन्डेशनको पूँजी राशि झन्नै सात करोड रुपियाँ बराबर रहेको छ ।
डा.गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा त्रिमूर्ति निकेतनको आयोजनामा रथारोहण गराइएको थियो । त्यही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सोही अवसरमा कोइरालाले डा.गिरीलाई उनकै उचाईको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।
डा.गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनको न्वारनको नाउँ सत्यदेवी थियो । राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एम्ए पढ्न उनी काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध भइन् । त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक भएपछि उनले एम्एड पनि उतीर्ण गरेकी थिइन् । उनले २०४२ सालमा पीएचडी गरिन् । नेपाली भाषासाहित्यमा पीएचडी गर्ने उनी प्रथम विश्व नारी प्राज्ञ थिइन् ।
डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशित भयो भने सो कृतिको अङ्ग्रेजी भाषामा (२०७८) दुर्गा वनवासी शिवाकोटीबाट अनुवाद भएको छ ।
सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा.गिरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली महिला प्राज्ञ थिइन् । डा.गिरीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए । डा.गिरीले चीन, वङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, सिङ्गापुर, जापान, इटली, फ्रान्स, नर्वे, निदरल्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका आदि मुलुकको भ्रमण गरेकी थिइन् ।
डा.गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । यी दम्पतिका एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो । अपराजिता र अपूर्व अमेरिकामै वसोवास गदै आएका छन् ।
डा.वानीरा गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम र वानीरा गिरी दोस्रो भएका थिए । कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम भएकी थिइन् । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरूवीचको मतमतान्तरका कारण उनलाई दोस्रो पारिएको थियो ।’ त्यतिखेर बानीराको कविता सुनेपछि राजा महेन्द्रले उनलाई नेपालमा नै बस्ने आग्रह गरेका थिए ।
वानीरा फाउन्डेशनले नेपाली भाषासाहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्नुकासाथै उनका पति शङ्कर गिरी, छोराछोरी र परिवारजनप्रति वानिरा फाउन्डेशनले हार्दिक समवेदना प्रकट गरेको छ ।


