
ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि रूस–युक्रेन युद्ध निरन्तर
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १८, आइतबार

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार तनावपूर्ण भेटवार्तापछि रूससँग युद्धविरामको सम्भावना तत्काल हटेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यकक्ष ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच वार्ता भएको थियो । विभिन्न सञ्चारमाध्यमले लाइभ गरेको करिब ५० मिनेटको वार्ताको अन्तिम दश मिनेटमा तनाव चर्किएको थियो ।
वार्ताले नराम्रो रूप लिएपछि तय गरिएको भोज कार्यक्रम रद्द भएको थियो । अमेरिका र युक्रेनबीच महत्त्वपूर्ण ठानिएको खनिज सम्झौता हुन सकेन । दुई देशबीचको सम्बन्धमा असर परेसँगै रूस र युक्रेनबीच जारी युद्ध अन्त्य हुने सम्भावनाको अवधि थप लम्बिएको छ ।
वार्ताको सुरुआति अवधि सामान्य रूपले अघि बढे पनि ट्रम्पको लगाव खनिज सम्झौतामा देखिन्थ्यो । जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीलाई प्राथमिकतामा राखेका थिए । जेलेन्स्कीले लगाएको लुगालाई लिएर पनि प्रश्न उठेपछि उनले त्यो सहनु परेको थियो ।
बैठक सुरु हुनुअघि जेलेन्स्की ह्वाइट हाउस पुग्दा ट्रम्पले स्वागतकै क्रममा लुगालाई लिएर टिप्पणी गरेका थिए ।
जेलेन्स्कीले सैन्य ड्रेससँग मेल खाने स्वेटर्स लगाएका थिए । युक्रेनमा युद्ध सुरु भएपछि आफ्ना सैनिकसँग ऐक्यबद्धता जनाउन उनले यस्ता ड्रेस लगाएको बताएका छन् ।
बैठकका क्रममा पत्रकारहरूबाट प्रश्न लिन थालेसँगै केबल नेटवर्क रियल अमेरिकाज भ्वाइसका प्रमुख ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीको लुगामाथि प्रश्न गरे ।
वार्तामा ट्रम्पले रूसी राष्ट्रपति भ्लोदिमिर पुटिनसँग मिलेर मध्यस्थकर्ताका रूपमा युद्ध रोक्न काम गर्ने भनेका छन् । जेलेन्स्कीले माग गरेको र पत्रकारहरूले प्रश्न गरिरहे जस्तो युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा भने उनी बोल्दैनन् ।
ट्रम्पले सुरुमा खनिज सम्झौता महत्त्वपूर्ण भएको र त्यसपछि युद्ध रोक्ने काम दुई प्रतिशत मात्रै हुने टिप्पणी गर्छन् । “म बीचमा छु । म यो समाधान गर्न चाहन्छु । दुवैतर्फ सैनिक र मानिसहरू मरिरहेका छन् त्यसलाई रोक्न चाहन्छु,” ट्रम्पले भने ।
रूससँगको युद्धपछि युक्रेनले आफ्नो सैन्य क्षमता बढाएको छ । तर अमेरिका र युरोपेली मुलुकको सहयोग युक्रेनका लागि अपरिहार्य छ । ट्रम्प–जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि दुई देशबीचको सम्बन्ध सहज भएर खनिज सम्झौता र युद्धविरामको प्रक्रिया कसरी र कहिले अघि बढ्छ भन्ने अस्पष्ट बनेको छ ।
Categorized in अन्तर्राष्ट्रिय