STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टोल–टोलमा सांस्कृतिक एकता अभियान “देवढोका यँलासि” बाजागाजा प्रतियोगिता

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र २९, मंगलबार

कीर्तिपुर/कीर्तिपुर डाँडोमा रहेका विभिन्न टोल–टोलमा रहेका बाजागाजाहरुलाई प्रोत्साहन एवं सांस्कृतिक एकता अभियान स्वरुप कीर्तिपुर नगरपालिका २ वडा देवढोकामा अवस्थित देवढोका दाफा खलः र ईन्द्रायणी परिवार क्लबको संयुक्त आयोजनामा तथा कीर्तिपुर नगरपालिका २ वडाको सहयोगमा ‘देवढोका यँलासि’ बाजागाजा प्रतियोगिताको आयोजना गरेको छ ।
ने.सं. ११४१ यँलाथ्व पारु (भाद्र २२ गते) मंगलबारदेखि नेपाल संवतको महिना ‘यँला’को शुभारम्भ भएको छ । यँला एक महिना अवधिभर प्रत्येक शनिबार देवढोकास्थित ईन्द्रायणी पीठमा राती ‘यँलासि’ अर्थात् यँला सीकःवनेगु सांस्कृतिक परम्परागत चलन चल्दै आइरहेको छ ।

नेवाः समुदायले ञँला महिनाभरि अष्टमातृका देवी (पीठ गण)को साधना गर्ने गर्दछ । लगत्तै दशैं पर्व सुरु हुने भएकोले ञँलाथ्व प्रतिपदादेखि ञँलागा औंशीसम्म एकमहिना हरेक साता शनिवार राती सुकुन्दामा दीप प्रज्ज्वलन, अर्पण गर्दै ञँला पर्व अर्थात् पीगं सीकेगु पर्व मनाउँदै आएको छ । कीर्तिपुरमा पनि ञँला पर्व भब्यतापूर्वक मनाउँदै आएको छ ।

पुरानो कीर्तिपुर बस्तीका टोल, टोलका दाफा खलःको अगुवाईमा पुरुषहरु धिमे र दाफा, नायःखिं इत्यादी बाजा बजाउँदै, महिलाहरु दीप अर्पण गर्दै पश्चिम देवढोका बाहिर रहेको ईन्द्रायणी पीठको दर्शन गर्ने गर्दछन् । कीर्तिपुरमा यो वर्ष ञँला पर्व भब्यतापूर्वक मनाउन कीर्तिपुर–२ स्थित ईन्द्रायणी परिवार क्लब र देवढोका दाफा खलःको आयोजनामा ‘देवढोका ञँलासि (पीगं) सीकेगु प्रतियोगिता ११४१’ आयोजना गरेको छ । यस प्रतियोगितालाई कीर्तिपुर नगरपालिका २ वडा कार्यालयको विशेष सहयोग गरेको छ ।  

यँलासिमा सहभागी विभिन्न टोलका दाफा खलः एवं बाजागाजा खलःहरुको प्रस्तुतिलाई मूल्यांकन गरी पुरस्कृत गर्ने आयोजक ईन्द्रायणी परिवार क्लवका अध्यक्ष मीमकुमार महर्जनले जानकारी दिनुभयो । साथै कार्यक्रममा उत्कृष्ट, ब्यवस्थित र अनुशासित एवं आकर्षक भेषभुषा प्रदर्शन गर्ने टोललाई पुरस्कृत गरिने जानकारी आयोजकले दिएको छ ।

Categorized in उपत्यका