STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्येष्ठ कलाकार पदम बाको महाप्रस्थान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २४, मंगलबार

नेपाली कलाकारिता क्षेत्रका ज्येष्ठ कलाकार पदम बा अर्थात पदम प्रसाद पौडेल अब यो संसारमा रहेनन् । पदम बाको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । अाजै साँझ पशुपति आर्यघाटमा उनको अन्तिम् संस्कार गरियो । उनको अन्त्येष्टि मा कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उनी चलचित्र नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य थिए ।

चलचित्रकर्मीहरुमाझ ‘पदम बा’ को नामले चिनिन कलाकार पौडेलले दर्जनौं नेपाली फिल्म, टेलिश्रृंखला, म्युजिक भिडियो तथा विज्ञापनहरुमा अभिनय गरेका छन् ।

लामो समय शिक्षण तथा पत्रकारिता पेसामा आबद्ध भएपछि उनी कलाकारिता क्षेत्रमा आएका थिए ।

नेपाल टेलिभिजनबाट प्रसारण भएका दर्जनौं टेलिश्रृंखलामा अभिनय गरेका पदमप्रसाद दर्शक तथा कलाकारमाझ समेत ‘पदम बा’ को उपनामले लोकप्रिय थिए ।

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ मा अभिनय गर्दै दर्शकमाझ आएका पदमप्रसाद आफूलाई कलाकारका रूपमा पहिचान दिने पुराना हास्य कलाकार सन्तोष पन्तप्रति आभारी थिए ।

आफूलाई ‘पदम बा’ का रूपमा सम्बोधन गर्न रुचाउने पौडेलले यात्रा जिन्दगीको, जानकी, भद्रगोल, तीतो सत्य, जीरे खुर्सानी, मेरी बास्सै आदि टेलिश्रृंखलामा अभिनय गरेका थिए ।

शिव रेग्मीको फिल्म ‘हामी तीन भाइ’ मार्फत चलचित्र यात्रा प्रारम्भ गरेका पदम बाले यो अवधिमा राजु राजाराम, मृत्युञ्जय, चोर सिपाही, धुम, जीवन मृत्यु, मुग्लान, किताब, लै बरी लै, नालापानी, ऐना झ्यालको पुतली, लै बरी लै, शान्ति आदि फिल्ममा अभिनय गरेका थिए । पदम बाले विभिन्न तीज गीतका म्युजिक भिडियोमा समेत नृत्य गरेका थिए ।

७ जना छोरा–छोरी तथा १४ जना नाति–नातिना भएका पदम बा अभिनयबाट फुर्सद पाएको बेला आफ्नै बेकरी उद्योगमा सक्रिय हुन्थे । चलचित्र तथा टेलिश्रृंखलामा हास्य कलाकारदेखि चरित्र अभिनेतासम्मको भूमिका निर्वाह गरिसकेका पदम बा पछिल्लो समय भने अस्वस्थ थिए ।

Categorized in व्यक्तित्व