STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्ञवाली र एस जयश‌ंकरबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २, शुक्रबार

काठमाडाैं – तीनदिने भ्रमणका लागि भारत गएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता सुरु भएको छ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता सुरु भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति रहेका छन् ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् ।

एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो । बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ ।

त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने स्रोतले बताएको छ । नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो ।

 

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३ः३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा हिजो विहिबार अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग उहाँकै कार्यकक्षमा हिजो शिष्टाचार भेट गरे। त्यसअवसरमा उनीहरुबीच नेपाल–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

Categorized in राजनीति