STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेल फर्किन रवि लामिछानेसहितका कैदीबन्दीलाई ताकेता

Janjati Khabar – – ललेन्द्र शाक्य – | २०८२ भाद्र २८, शनिबार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन नख्खु कारागार ललितपुरले सूचना जारी गरेको छ । रास्वपा सभापति लामिछानेको हकमा पनि सोही सूचना लागू हुने जानकारी कारागार स्रोतले जनाएको छ ।

नख्खु कारागारबाट जेन–जी आन्दोलनका क्रममा १ हजार २ सय ८० कैदीबन्दी फरार भएका थिए । यद्यपि लामिछानेले आफू कारागारबाट निस्किन नचाहँदा नचाहँदै पनि भीड बढेपछि कारागारले आफूलाई जबर्जस्ती बाहिर निकालेको बताएका थिए । आफूले विना पत्र जेल बाहिर जान्न भन्दाखेरी उनीहरुले दिएको पत्र जस्ताको तस्तै सार्वजनिक गरेको पनि लामिछानेले बताएका थिए ।

कतिपय कैदीबन्दी सम्पर्कमा आएका छन् भन्दै कारागारका एक अधिकारीले कारागार नफर्किए थप सजाय हुने प्रशासनको चेतावनी रहेको बताएका छन् । ती अधिकारीले भनेका छन्, ‘हामीले सूचना जारी गरिसकेका छौं । यो पत्र रवि लामिछानेको हकमा पनि लागू हुनेछ । सूचना जारी गर्दा पनि सम्पर्कमा नआए थप कारबाहीको बाटो अबलम्बन गर्छौं ।’

कारागारले जारी गरेको सूचनामा भनिएको छ, ‘भाद्र २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपीलमार्फत् हार्दिक अनुरोध गर्दछौं ।’

Categorized in अपराध-दुर्घटना