
जेपि स्कूलका संस्थापक हेडमास्टरको शालिक अनावरण
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २७, बुधबार

जेपी हाईस्कूलको नामबाट प्रख्यात जुद्धोदय माध्यमिक विद्यालयको ८६ औं स्थापना दिवसका अवसरमा मंगलवार विद्यालयका संस्थापक हेडमास्टर खर्दार तीर्थराज सिं सुवालको शालिक अनावरण गरिएको छ ।
विद्यालयको पूर्व जेष्ठ विद्यार्थी (२००१ समूह) एवम् पूर्वअर्थसचिव गोरक्षबहादुर न्हुछेँ प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सालिक अनावरण कार्यक्रममा उहाँले संस्थापक हेडमास्टरको शालिक अनावरण गर्नुभएको थियो ।
जहानियाँ राणाशासनको समयमा पनि सर्वसाधारण जनताका छोराछोरीलाई पढाउनका लागि वि.सं. १९९५ मा जुद्धोदय मा.वि.को स्थापना गरिएको थियो । तत्कालीन समयमा श्री ३ जुद्ध शम्शेरको स्वीकृति लिएर सो विद्यालय स्थापना गराउन सुवालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले कलकत्ताबाट म्याट्रिक पास गर्नुभएको थियो । उहाँले जनताबाट चन्दा संकलन गरेर विद्यालयको स्थापना गर्नुभएको थियो ।
यसैक्रममा अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका काठमाडौं मनपाका प्रवक्ता एवम् १७ वडाका अध्यक्ष नविन मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयमा जेपी स्कूलका शिक्षक शिक्षिकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभएको थियो । सोही अवसरमा वि.सं. २०१० सालमा बोर्ड फस्ट हुनुभएका पदमलाल श्रेष्ठ र वि.सं. २०११ मा बोर्ड सेकेण्ड हुनुभएका भुवनेस कुमार प्रधानलाई पनि सम्मान गरिएको थियो ।
जुद्धोदय मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शालिक निर्माण समितिका संयोजक पुष्पमान मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा विविध सांस्कृतिक तथा खेलकूदका कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । जेपी स्कूलले वि.सं. २००७ देखि वि.सं. २०२१ सम्ममा ८ जना बोर्डफस्ट हुन सफल भएका थिए । अहिले पनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समिति अहोरात्र खटिरहेको सभापति मानन्धरले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीहरुका साथै नेपाल सरकारको पूर्वसचिव, न्यायाधीसहरु, नेपाल आर्मीका उपरथी, नेपाल प्रहरीका एआईजी, डाक्टर, इञ्जिनियर, प्राध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।
Categorized in उपत्यका