STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपा र माओवादीको प्रस्ताव : प्रदेश २ काे नाम मधेस, राजधानी जनकपुर

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ६, सोमबार

प्रदेश २ को नाम तथा स्थायी राजधानीका लागि आइतबारसम्म दुई वटा प्रस्ताव दर्ता भएका छन् ।

सत्तासीन दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशसभामा प्रदेश राजधानी तथा नामको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशको नाम मधेस र राजधानी जनकपुरका लागि दुवै दलले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

जसपाले राजधानीका लागि गरेको प्रस्तावमा जनकपुरधामसहित उत्तरतर्फ पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा मार्गभित्रको क्षेत्र तोकिएको छ । त्यसैगरी माओवादी केन्द्रले राजधानीका लागि जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ ।

जसपाको तर्फबाट मधेस प्रदेश नामाकरणका लागि प्रमुख सचेतक शैलेन्द्र यादवले दर्ता गराएको प्रस्तावमा सांसदद्वय बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन् । त्यसैगरी जनकपुर राजधानीका लागि जसपा सांसद परमेश्वर साहले गरेको प्रस्तावलाई चमेली देवी दास, सन्चमाया मोक्तान र निरा साहले समर्थन गरेका छन् ।

माओवादी केन्द्रका तर्फबाट जनकपुर राजाधानीका लागि संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गरेको प्रस्तावलाई उपनेता जगतप्रसाद यादव र सचेतक दिलिप साहले समर्थन गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस र नेपाल संघीय समाजवादी पार्टीले भने अझै प्रस्ताव दर्ता गराएका छैनन् । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न कुल १ सय ३ जना सांसदमध्ये दुई तिहाइ सांसदको समर्थन आवश्यक छ ।  

१ सय ७ जना सांसद रहेको प्रदेश २ मा माओवादी केन्द्रले आफ्ना चार सांसदलाई पदमुक्त गरेकाले हाल प्रदेशसभामा १ सय ३ जना सांसद छन् । कायम रहेको प्रदेशसभाको संख्यामा प्रदेशको राजधानी र नामाकरणका लागि ६९ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशमा जसपाको ५५ र माओवादी केन्द्रका ७, एमाले २१, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

Categorized in राजनीति