STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छत्रपाटीमा कोभिड विशेष अस्पताल सञ्चालन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १२, बुधबार

काठमाडौँ महानगरपालिकाको सहयोगमा छेत्रपाटी निःशुल्क चिकित्सालयले बुद्ध बार देखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगरपालिका र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरपालपकाले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र  सञ्चालन खर्चबापत मासिक करीब रु ४८ लाख १६ हजार ६०० रकम सहयोग गर्ने तय भएको छ ।

शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा आज अस्पताल सञ्चालनको शुभारम्भ गर्नुभएको हो । अस्पतालका निर्देशक डा प्रेमकुमार जोशीका अनुसार अब अस्पतालमा सात आइसियु, चार भेन्टिलेटर, छ एचडियुसहित ३५ शैय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

महानगरसँग भगिनी सम्बन्ध स्थापना भएको चीनको ल्हासा शहरबाट उपलब्ध भएको भेन्टिलेटरमध्ये दुई थान   छत्रपाटी चिकित्सालयलाई यसअघि नै दिइएको छ । यसैगरी अस्पतालले खरीद गर्ने थप तीन भेन्टिलेटरकोलागि रकम पनि महानगरपालिकाले नै भुक्तानी गर्ने सहमति भएको छ । अस्पतालको पूर्वाधार सुधारका लागि करीब रु ३० लाख खर्च गरेर लिफ्ट जडान गरिसकेको र नयाँ भवन निर्माण गर्न करीब रु पाँच करोड विनियोजन गरेको कुरा मेयर शाक्यले बताएका छन् ।

शुभारम्भपछि राज्यमन्त्री मानन्धरले महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताउनुभयो । महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंसा गर्दै उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रम व्यक्ति वा समूहको भन्दा माथि हुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गत वैशाख २५ गतेदेखि अहिलेसम्ममा महानगरपालिकाले कोरोना नियन्त्रणका लागि आवश्यक यन्त्र उपकरण सहयोग गर्न भन्दै १२ अस्पतालसँग सम्झौता गरिसकेको छ । यसरी सम्झौताबमोजिम छत्रपाटी अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ थान अक्सिजनसहित २०० शैय्याको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ शैय्याको एचडियु र २५ शैय्याको साधारण गरी ५० शैय्याकोे आइसोलेशन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालमा ४२ भेन्टिलेटर र १० थान प्रेसर यन्त्र जडान हुने कुरा महानगरपालिका का प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले बताएका छन् ।

Categorized in स्वास्थ्य-मौसम