STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गर्नुभएको छ । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गर्नुभएको हो । उहाँले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद रु पाँच हजार पाणिनी–२ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गर्नुभयो । चौरासी पूजामा खर्च नगरी जग्गानै विद्यालयलाई दिएको र उक्त जग्गाले विद्यालयको श्रीवृद्धिमा काम गर्ने भएकाले उक्त जग्गादान गरेको ८४ वर्षीय वृद्ध सार्कीले बताउनुभयो । आफूले गरेको काम सबैका लागि प्रेरणा हुने सार्कीको भनाइ छ । विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपुर्जा वृद्ध सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गर्नुभयो । “एक दलित परिवारको वृद्ध भएर पनि मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरी समाजकै उदाहरणीय काम गरेका छन् । यसबाट हामी सबैले सिक्न जरुरी छ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । विद्यालयको विकासमा यो जग्गादानले उल्लेखनीय भूमिका खेल्नेछ । कार्यक्रममा शिक्षक अविभावक सङ्घका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनालले दाता सार्कीको कार्यको प्रसंशा गर्नुभएको थियो ।
Categorized in उपत्यका