STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चोभार सुख्खा बन्दरगाह साउनदेखि सञ्चालनमा आउने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १४, सोमबार

काठमाडौं - चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह साउनदेखि सञ्चालनमा आउने भएको छ ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुख्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताएका हुन् ।

बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरी सकिने पनि उनले बताए ।

उनले भने ‘भन्सार र क्वरेन्टीनका लागि बिल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । ठूला गोदामहरु दुई वटा निर्माण भइसकेको छ । कन्टेनर यार्ड पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तीनवटै सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, बाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’

काठमाण्डौमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधै काठमाण्डौमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए ।

वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरि सामग्री एकैचोटी काठमाण्डौमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनले बताए । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उनले बताए । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उनले बताए ।

Categorized in बिजनेस