STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १२, शनिबार

काठमाडौं- चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तारन्तर गरे । पोखरामा पनि विमानस्थल हस्तान्तरण कार्यक्रम गरिएको थियो ।

काठमाडौंमा प्रधानमन्त्री देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्रीले साँचो हस्तान्तरण गरे भने  पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ कम्पनी सीएएमसीईका अध्यक्ष लु यानलाई कदरपत्रद्वारा सम्मान गरे।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए । उनका अनुसार विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएकाले बाँकी कार्य पनि निरन्तर सञ्चालन हुनेछ ।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनलगायत १४ भवन, ट्याक्सी वे लगायतका मुख्य काम सम्पन्न भएको छ । बाँकी काम निर्माण कम्पनीले निर्धारित समयमा पूरा गर्ने जनाइएको छ । विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि कोरोना सङ्क्रमणका कारण निर्माण कार्य प्रभावित भएपछि एक वर्ष म्याद थपिएको थियो ।

मन्त्री आलेले विमानस्थल छिट्टै सञ्चालनमा ल्याइने बताए । सरकारले आवश्यक तयारी पूरा गरेर आगामी ६ महिनाभित्रमा सञ्चालनमा ल्याउने उनले जानकारी दिए । उनले भने, ‘आजको कार्यक्रमले पोखराको विमानस्थल सम्पन्न भयो भन्ने सन्देश दिएको छ । अब यहाँका पर्यटन व्यवसायीलाई पर्यटनमा लगानी गर्न यसबाट सन्देश प्रवाह भएको छ ।’ उनले ६ महिनाभित्र सञ्चालन गर्ने भने पनि विमानस्थल सञ्चालनका लागि  रिठ्ठेपानी डाँडा कम्तिमा ४० मिटर काट्नुपर्ने प्राविधिक अध्ययनले निष्कर्ष निकालेको छ । यो विषयमा सरकारले काम गरिसकेको छैन । रिठ्ठेपानी डाँडा कटानको काम अघि बढाउन पुरक वातावरणीय प्रतिवेदन स्वीकृतिको चरणमा रहेको उनले जानकारी दिए।

Categorized in राजनीति