STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चिनियाँ नेता ली दिनभरिकाे भेटघाटमा व्यस्त

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २८, मंगलबार

काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले मंगलबार प्रमुख राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवाादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका लीले बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई भेटेका थिए । संसद भवन, बानेश्वरमा भएको भेटमा लीले चीनले उच्चस्तरीय भ्रमणमा नेपाललाई उच्च प्राथमिकता राखेको बताएका छन् । नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका उनले दुई देशबीच भएको बीआरआई लगायतका सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा नेपालले स्वतन्त्र पराष्ट्र नीति लिने अध्यक्ष लीले विश्वास व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । ओलीले पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राख्दै नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेकाे भेटमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीले बताए ।

भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका प्राथमिकता प्राप्त क्षेत्रका ठूला परियोजनामा लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका थिए। उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएका थिए ।

प्रचण्डले नेपालमा दसैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह गरेकाे बताइएकाे छ । नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै प्रचण्डले नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको पनि बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भएकाे भेटमा अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्की पनि सहभागी थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमबार काठमाडौँ आएका हुन् । सोमबार नै सभामुख सापकोटा र अध्यक्ष लीबीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

Categorized in राजनीति