STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवनका वरिष्ठ पत्रकार ढकाललाई लक्की मिडिया सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन ३, बुधबार

चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चितवनका वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानित गर्न लागिएको हो ।

मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएका ढकाललाई सम्मान गर्न लागिएको जानकारी दिनुभयो । विसं २०२३ सालमा काभ्रेमा जन्मिएर विसं २०४७ मा चितवन झर्नुभएका ढकालले विसं २०५२ देखि पत्रकारिता क्षत्रेमा क्रियाशील हुनुहुन्छ । तत्कालीन पारदर्शी साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका ढकालले पारदर्शी दैनिक, लोकतन्त्र दैनिक, जनआस्था साप्ताहिक, जनदिशा दैनिकलगायतका सञ्चार माध्यममा काम गरिसक्नु भएको छ ।

विगत १५ वर्षदेखि राजधानी आस्था साप्ताहिक पत्रिका प्रकाशन गर्दै आउनु भएका ढकाल प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन विभागको उपाध्यक्ष हुनुहुन्छ । महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आउनु भएका व्यवसायी, चिकित्सक, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदैछ । सम्मानीत हुनेहरुको नाम क्रमशः सार्वजनिक गर्दै जाने कार्कीले बताउनुभयो ।

लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताउनुभयो । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उहाँले जोड दिनुभयो ।

अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उहाँले बताउनुभयो । विसं २०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।

Categorized in साहित्य-कला