STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र व्यवसायी कायस्थले ‘लुँयागु तक्मा’ नामक नेपालभाषाको फिल्म बनाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १, बुधबार

चलचित्र व्यवसाय जगतका अग्रज गोपाल काजी कायस्थले अब नेपालभाषामा  चलचित्र बनाउने भएको छ ।    नेपालभाषामा निर्माण हुने उक्त फिल्मको शिर्षक  ‘लुँयागु तक्मा’ राखिएको छ भने सो फिल्मको राजधानीमा आयोजित एक भव्य समारोहकाबीच शुभमुर्हत गरिएको छ । ख्यालिजुजु अर्थात हाँस्यसम्राट रुपमा प्रख्यात  कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा अभिनेता नीर शाहको विशेष उपस्थितिमा फिल्मको घोषणासँगै मुर्हत गरियो । मुहुर्त समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का , काठमाण्डौं महानगरपालिका वडा २५ का अध्यक्ष नीलकाजी शाक्य लगायतकाे विशेष उपस्थिति रहेको थियो ।

नेपालभाषा चलचित्र जगतका ख्यातिप्राप्त सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहने फिल्मलाई गोपालकाजी कायस्थले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा रन्जना सितिखु रहेका छन् भने रुमण जोशी निर्माण नियन्त्रकका रुपमा रहनेछन् । देवेन्द्र महर्जनको छायांकन र सविन शाक्यको सहनिर्देशन रहने फिल्म सामाजिक विषयवस्तुमा केन्द्रित रहने बताइएको छ ।

फिल्ममा विशेषतः एक पिताले आफ्ना सन्तानहरुको उन्नतिका लागि आफ्नो जिम्मेवारी बहन गरेर हुर्काउने तर छोराछोरीहरुको  माया भने अन्तै बढी हुने विषयलाई मार्मिक ढंगले प्रस्तुत गरिने निर्देशक तुलाधरले बताए ।

फिल्ममा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु लगायत नवकलाकारहरु रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ ।

नेपालभाषाको संगीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वावाको स्वास्थ्य समस्यामा परिरहने भएकोले उहाँलाई नियमित सहयोग गर्ने उद्देश्यले एउटा कोष खडा गर्न  सुखावति मल्टि प्रोडक्शनको सकृयतामा   फिल्म निर्माण गर्न लागिएको कुरा लेखक निर्देशक तुलाधर ले बताए  । मानकृष्ण नै फिल्ममा लिड अभिनयमा रहनेछन् । विशेषतः भजन संगीतमा रुचि राख्ने मानकृष्णका नेपालभाषाका धेरै लोकप्रिय गीतहरु छन् भने नेपालभाषाको टेलिसिरियल ‘ख्वताबजि’मा ‘देपां बिइला..’ थेगो सहितको उनको अभिनय धेरैले रुचाएको अभिनयमा पर्छ ।

नेपालभाषाको संगीत र कला क्षेत्रको उत्थानका लागि आफ्नो जीवन समर्पण गर्दै आएका कलाकार वावालाई पछिल्लो समय देखिएको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वावाको स्वास्थ्य संरक्षण कोषको लागी सुखावती मल्टी प्रोडक्सनले यो फिल्म निर्माणको तयारी गरेको निर्माता कायस्थले बताए । फिल्म माघपछि फ्लोरमा जानेछ भने करिब ५० लाख बजेटको फिल्म निर्माण पश्चात च्यारेटी र विभिन्न शोजहरुबाट संकलित रकम मानकृष्णको स्वास्थ्य संरक्षण कोषमा जम्मा गरिने बताइएको छ ।

तश्विर श्रोतः बिके जल्मी

Categorized in सिनेमा