चलचित्र पत्रकार संघ नेपालको महाधिवेशन फागुन १७ मा
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष २१, बिहिबार
चलचित्र पत्रकारहरुको छाता संगठनको रुपमा रहेको चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन यही फागुन १७ गते काठमाडौंमा गर्ने घोषणा गरेको छ । महाधिवेशनका लागि निर्वाचन समिति तथा स्थान भने आगामी वैठकमा तय गर्ने निर्णय भएको कुरा संघले जनाएको छ ।
यस्तैगरी संघको पुष २१ गते बसेको बैठकले चलचित्र पत्रकार संघ नेपालका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।
सो निर्णयको जानकारी दिन संघका सचिव विशाल राईद्वारा जारी विज्ञप्ती अनुसार उक्त सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गर्नुका साथै यो सुविधा प्राप्त गर्ने सदस्यको पहिचान कार्यसमिति र कल्याणकारी कोष सञ्चालक समितिले गर्ने निर्णय भएको छ ।
यसैगरी, बैठकले यही माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ ।
अधिवेशनमा सहभागी हुनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको कुरा विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । जस अनुसार भद्रबहादुर कार्की नविन, अमृता खनाल, सृजना विश्वकर्मा (सोजना), सरिता भारती, सुदीप पौडेल, लक्ष्मी बलायर, सेञ्जल अधिकारी, संगीता गिरी, सुजन श्रेष्ठ, अर्जुन गुरागाईं, नवराज गिरी, निशा बजगाईं, पवन भट्टराई, प्रकाश भुषाल, राज मल्ल, सुष्मा कार्की, सबी कार्की, सन्तोष खनाल, शालिकराम न्यौपाने, संगीत ओली, रत्नबहादुर चन्द, धिरज गुरुङ, दीपक गिरी तथा दीपेश गौतमलाई संघको सदस्यता प्रदान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


