STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र पत्रकारका लागि फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ६, बिहिबार

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशालाको बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको छ । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० जना भन्दा बढी पत्रकारहरु सहभागी रहेका छन् ।  सो कार्यशाला  फाल्गुन ६ गतेदेखि ८ गते शनिवारसम्म तीन दिन संचालन हुनेछ ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको कार्यशालाको उद्घाटन सत्रमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।

कार्यशालाबाट लगनशिलता र अनुशासन सिक्न उनले पत्रकारहरुलाई आग्रह गरे । अध्यक्ष दाहालले आफ्नो पेशाप्रतिको लगनशिलता र अनुशासनलाई सधैं पहिलो सर्त बनाउन पनि आग्रह गरे । राजनीतिक पत्रकारिता गर्नेहरुले चलचित्र पत्रकारितालाई कुनामा राख्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले चलचित्र पत्रकारिता राजनीतिक पत्रकारिताभन्दा अगाडि आउनुपर्ने बताए ।

चलचित्र पत्रकार वा समीक्षकमा चलचित्रको स्वरुप नै बदल्न सक्ने तागत रहेको उनले बताए । अध्यक्ष दाहालले एउटा बाटोमा हिँडिरहेको सिनेमाको धारलाई  पत्रकारको कलमले   अर्को बाटोमा लैजान सक्छ भन्दै चलचित्र पत्रकारले सिनेमा बनाउन जान्नु पर्दैन, उसले प्रयोग गर्ने भाषा र समीक्षाले चलचित्रको लेखन वा निर्माण शैलीको स्वरुपलाई नै उत्कृष्ट शैलीमा पर्दापण गराउन मद्दत पुऱ्याउन सक्नु पर्छ भन्ने विचार उनले पोखे ।

चलचित्र पत्रकार संघका अध्यक्ष सिटौलाले कोरोना महामारीको समयमा चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे । नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको उनले बताए । उनले चाँडै संघले विभिन्न कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता जनाएका छन् ।

कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् भने फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बन्नेमा चलचित्र पत्रकार संघका महासचिव समिर बलामीको विश्वास छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानको सहभागिता रहेको थियो । सबैले तीन दिने कार्यशालाको सफलताको शुभकामना दिएका थिए । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा  भइरहेको  तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशालाको  सम्पन्न गर्न कुबेर डंगोल को संयोजकत्वमा एक समिती गठन गरिएको छ ।

Categorized in सिनेमा