relans
ni new 83
nib 2082 5

चलचित्र कलाकार संघको २०औं साधारणसभा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र ५, मंगलबार

नेपाल चलचित्र कलाकार संघले  सोमवार आफ्नो २० औं साधारण सभाको अवसर पारेर आयोजित समारोहमा विभिन्न कलाकारहरुका साथै पत्रकार समेतलाई सम्मान प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पत्रकार कृष्ण भट्टराईलाई  चलचित्र कलाकार संघ पत्रकारिता सम्मान प्रदान गरिएको हो । 

समारोहमा पत्रकार भट्टराईसंगै अभिनेता तथा चिकित्सक डा.रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह तथा एयरसेल ट्राभललाई पनि सम्मानित गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि डिसी, कार्यक्रमका सभापति कलाकार संघका अध्यक्ष मोहन निरौला, पूर्व अध्यक्ष रविन्द्र खड्का, फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसालसहितका व्यक्तित्वले सम्मानित गरेका हुन् ।

संघका केन्द्रिय सदस्य तथा लोकप्रिय हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ द्वारा सञ्चालित उक्त समारोहमा २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार चरित्र अभिनेता मुकुन्द किशोर भट्टराईलाई, २०७९ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार चरित्र अभिनेता लय संग्रौला तथा २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार अभिनेता पुरण जोशीलाई अर्पण गरिएको छ । पुरस्कारको राशी जनही ७५,००० (पचहत्तर हजार रुपैयाँ) छ ।

यसैगरी अभिनेत्री गौरी मल्ललाई छप्पन्न हजार रुपैयाँ राशीको ‘स्व.शान्ति मास्के स्मृती पुरस्कार’ प्रदान गरिएको छ । मातृशोकको पीडामा रहेका कारण अभिनेत्री मल्ल समारोहमा उपस्थित भइनन् । समारोहमा दश हजार रुपैयाँ राशिको स्व. गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरियो ।

संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न सो समारोहमा संघका महासचिव सबिन श्रेष्ठ ले स्वागत मन्तव्य राखेका थिए भने प्रमूख अतिथि डि सि ले चलचित्र विकास बोर्ड हरेक क्षण कलाकारिता को प्रतिष्ठा बृद्धि मा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै नेपालको चलचित्र जगतलाई उपयोगी हुने हरेक कार्यमा दत्तचित्त भइ अघि बढिरहने कुरा बताए ।

Categorized in सिनेमा
ppp 2