STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्रमा गीतको भूमिकाबारे बिकास बाेर्डमा बहस

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १९, बिहिबार

गीतकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्यशाला’ सम्पन्न भएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पूर्व मन्त्री तथा वरिष्ठ कवि-गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मीरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गीतकार आनन्द अधिकारी तथा कवि-गीतकार श्रवण मुकारुङ वक्ताका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले चलचित्र उद्योगमा गीतलाई प्रायः प्रचार-प्रसारको माध्यमका रूपमा प्रयोग गरिने गरेको उल्लेख गर्नुभयो । उहाँले गीतकारको योगदान, रोयल्टी र प्रतिलिपि अधिकारका विषयलाई संवेदनशील रूपमा हेरिनुपर्नेमा जोड दिनुभयो । कार्यशालाले चलचित्रमा गीतको इतिहास, आवश्यकता, महत्व र प्रभावबारे चेतना विकास गर्ने उद्देश्य राखिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमा गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरिएको थियो । 

प्रविधिको तीव्र विकाससँगै चलचित्रको शैली र सामग्रीमा आएको परिवर्तनबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो । विशेषगरी हिंसात्मक र एनिमेटेड चलचित्रको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीले समाजमा दीर्घकालीन असर पार्न सक्ने वक्ताहरूले औंल्याएका थिए ।

प्रतिलिपि अधिकार र रोयल्टीबारे बोल्दै सुरेश अधिकारीले गीतकारलाई पहिलो स्रष्टा, प्रस्तोता र उत्पादकका रूपमा मान्यता दिइनुपर्ने धारणा राख्नुभयो । उहाँले गीतकारको अनुमति बिना रिमेक, पुनःउत्पादन वा सार्वजनिक प्रयोग गर्न नमिल्ने स्पष्ट पार्नुभयो । गीतको बौद्धिक सम्पत्ति गीतकारमै निहीत रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको उल्लेख गर्दै उहाँले सहमति पत्रमार्फत अधिकार सुरक्षित गर्न सुझाव दिनुभयो ।

वरिष्ठ गायिका मीरा राणाले आफ्नो सांगीतिक यात्रा चलचित्रबाटै सुरु भएको स्मरण गर्दै गीतबिनाको चलचित्र कमजोर हुने बताउनुभयो । उहाँले चलचित्रलाई पूर्णता दिन गीत-संगीत अनिवार्य रहेको धारणा राख्नुभयो ।

त्यसैगरी श्रवण मुकारुङले गीत लेखनका क्रममा भोगेका अनुभव साझा गर्दै चलचित्र क्षेत्रमा गीतकारलाई कहिलेकाहीँ उपेक्षित गरिने गरेको उल्लेख गर्नुभयो । उहाँले ‘राई माइलाले गाउँ छाड्यो’ गीतपछि चलचित्र निर्माताबाट प्रस्ताव आए पनि पारिश्रमिकसहित सम्झौता गर्न खोज्दा प्रक्रिया अघि नबढेको अनुभव सुनाउनुभयो ।

कार्यक्रमका पूर्व मन्त्री एसपी कोइरालाले चलचित्रमा गीतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै गीतकारहरूको हकअधिकारका पक्षमा गीतकार संघ नेपालले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले यस्ता विषयमा आवाज उठाइएकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।

Categorized in सिनेमा