चलचित्रघरलाई विकास शुल्क अभिमुखीकरण तालिम उपयोगी साबित
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर ८, सोमबार
चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सञ्चालन गरेको छ । सो चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत सफलतापूर्वक सम्पन्न गरिएको छ।
यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ।
तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग विधि, डेटा अभिलेखन र प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, कार्यप्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने उपाय जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइयो।
उक्त तालिम बोर्ड सदस्य गणेश प्रसाद सुवेदी, अधिकृत दिनेश बानियाँ, प्रविन पाण्डे तथा एष्टर इनोभेसन प्रा.लि. का प्रशिक्षक सेरफ लामाको टोलीले सञ्चालन गरेको थियो।
नेपाली चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले यस आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरेको छ। सोही अभियानअन्तर्गत बोर्डले आफ्नै प्रमुख आयस्रोत चलचित्र विकास शुल्कलाई डिजिटल र अभिलेखिकृत रूपमा व्यवस्थापन गर्न बनाइएको चलचित्र विकास शुल्क पोर्टलको व्यापक अभिमुखीकरण तथा तालिम सुरु गरेको हो।
बोर्डले यो कार्यक्रममार्फत देशभरका सबै चलचित्रघरलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापनमा दक्ष बनाइ चलचित्र क्षेत्रलाई आर्थिक पारदर्शिता, राजस्व संकलन तथा संरक्षण, र सुशासनका दिशामा अगाडि बढाउने भरपर्दो आधार तयार हुने विश्वास व्यक्त गरेको छ।
Categorized in साहित्य-कला

