चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष - २०८२ अन्तर्गत थप विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १९, मंगलबार
चलचित्र विकास बोर्डले “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२” कार्यक्रम अन्तर्गत चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गर्दै आईरहेको छ भने आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई दक्षता अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न विधाका तालिमहरू आयोजना गरिएको हो। यसै अन्तर्गत यस अघि घोषणा गरिए अनुसार पटकथा लेखन, spot sync sound, अन्तर्राष्ट्रियस्तरको डल्बी एटमस् साउण्ड मिक्सिङ् तालिम, घोडा चढी, तालिमहरू आयोजना भईसकेका छन्। यसै अन्तर्गत आगामी दिनमा सञ्चालन गरिने ड्रोन सञ्चालन तालिम, भ्वाइस एक्टिङ तथा डबिङ तालिम, फिल्म लाइट–ग्याफर तालिम, प्रोस्थेटिक मेकअप तालिम, A I सम्बन्धी कार्यशाला, फोटो तथा भिडियो पत्रकारिता तालिम तथा पौडी तालिमहरूको समय तालिका सार्वजनिक गरिएको छ।
चलचित्रकर्मीहरूको शारीरिक तन्दुरूस्ती, सुरक्षा सीप तथा पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी तालिम २०८२ फागुनको अन्तिम सातामा आयोजना गरिनेछ।
मिति २०८२ चैत १ देखि ३ गतेसम्म भ्वाइस एक्टिङ तथा डबिङ तालिम प्रशिक्षक अमित डेओन्दीको नेतृत्वमा सञ्चालन हुनेछ। २०८२ चैत ९ देखि १७ गतेसम्म ड्रोन तालिम सञ्चालन हुनेछ यसैगरी फिल्म लाइट–ग्याफर तालिम चैत महिनाको दोस्रो सातामा, प्रोस्थेटिक मेकअप तालिम प्रशिक्षक आयाज शेखद्वारा चैत महिनाको अन्तिम सातामा, एआई कार्यशाला चैतको पहिलो सातामा तथा फोटो तथा भिडियो पत्रकारिता तालिम चैतको अन्तिम सातामा सञ्चालन गरिनेछ।
चलचित्र क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई आफ्नो पेशागत दक्षता अभिवृद्धिका लागि यस सुनौलो अवसरको सदुपयोग गरी तालिम तथा कार्यशालामा सहभागिताका लागि सूचनामा उल्लेखित ह्ववाट्सएप नम्बर तथा आफू सम्बद्ध संघ संगठन मार्फत चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।
चलचित्र क्षेत्रमा पछिल्लो ५ वर्षदेखि निरन्तर सक्रिय चलचित्रकर्मीहरूलाई विशेष प्राथमिकता दिइने छ।पहिलो आवेदनलाई पहिलो प्राथमिकता दिई प्रशिक्षार्थीको छनोट हुने बताइएको छ।
Categorized in सिनेमा

