STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्रकर्मिहरुलाई सांस्कृतिक रूपान्तरण पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक २४, सोमबार

 नेपाल सरकार चलचित्र विकास बोर्डले संविधान दिवस २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। कार्यक्रम बोर्ड परिसर, चाबहिलमा सम्पन्न भएको थियो। यसभन्दा पहिला बोर्डको अध्यक्ष भुवन के सि को कार्यकाल मा दिन थालिएको यो पुरस्कार विगतमा असोज ३ गते संविधान दिवसको अवसर पारेर दिने गरिन्थ्यो भने यो वर्ष भदौ २३ र २४ गते भएको जेन्जि अान्दोलनको कारण त्यत्तिबेला स्थगित भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको प्रष्ट रूपमा व्यक्त गरे। मन्त्री खरेलले भने —

“अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु।”

त्यसैगरी, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै, सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने उल्लेख गरिन्।

कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई सचिव अर्यालद्वारा खादा, र मन्त्री खरेलद्वारा रु. २०,०००/- नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए। सूची यसप्रकार छ:

सम्मानित व्यक्तित्वहरू

* श्री शिव श्रेष्ठ (कलाकार)

* श्री सबिता गुरुङ (कलाकार)

* श्री तीर्थ थापा (निर्देशक)

* श्री यस कुमार (संगीतकार/गायक/निर्देशक)

* श्री ध्रुव लम्साल (चलचित्र पत्रकार)

* श्री रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)

* श्री सम्झना रौनियार (निर्देशक)

* श्री युवराज लामा (निर्माता/निर्देशक)

* श्री हेमन्त बुढाथोकी (कलाकार)

* श्री किशन पोखरेल (निर्माता)

* स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त)

* श्री नाजिर हुसेन (कलाकार)

* श्री रिमेश अधिकारी (निर्देशक)

* श्री रेनीश फागो (रंग संयोजक/प्राविधिक)

* श्री अन्जु पन्त (गायिका)

कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालीम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण तथा सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम औपचारिक र सफल रूपमा सम्पन्न गरिएको थियो।

अन्त्यमा, बोर्ड अध्यक्ष दिनेश डिसीले सबै सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।

Categorized in सिनेमा