STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

 काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ । उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ गते नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी निकायसँग ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा छलफल गरिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको ट्राफिक जामलाई कम गर्न तत्काल करिडोर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउनुहुन्छ । “उपत्यकाको ट्राफिक सुधारमा करिडोर निर्माणले महत्वपूर्ण भूमिका खेल्न सक्छ”, उहाँ भन्नुहुन्छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तीन महीने कार्ययोजनासमेत तयार पारेको छ । महाशाखाले बालकुमारी पुलमुनि, गोपीकृष्ण पुलमुनि, रातोपुलमुनि, सेतोपुलमुनि, कालोपुलमुनि र भत्केको पुलमुनिको करिडोर तत्काल निर्माण गर्नुपर्ने बताएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा करिडोर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउनुहुन्छ । “करिडोर निर्माणसँगै उपत्यकामा हुने ट्राफिक जाम धेरै घट्छ”, उहाँ भन्नुहुन्छ । पुल निर्माणसँगै उपत्यकामा हुने सवारी दुर्घटनामा समेत कमी आउने उहाँको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारीसाधन सञ्चालनमा रहेका छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारीसाधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । उक्त सवारीसाधनलाई व्यवस्थापन गर्न उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति खटिँदै आएको छ ।
Categorized in राष्ट्रिय