STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोसाइँकुण्ड आजदेखि मेला शुरू

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि शुरू भएको छ । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक तीर्थ गोसाइँकुण्डमा आजदेखि २९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेला भर्न भक्तजन फाटफुट रूपमा निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्नाले भगवान् शिवको आशीर्वादबाट सबै भक्तजनको मनोकाङ्क्षा पूरा हुने र अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक मान्यता रहिआएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले आफ्ना अनुभव सुनाउनुभयो । दशहरा पर्वमा पाँच हजार भक्तजनको आगमन हुने लक्ष्य राखिएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले तीर्थ जाने यात्रुका लागि स्थानीय व्यवसायीमार्फत बास र भोजनको यथेष्ट व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ तीर्थ जाने सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको हो । चन्दनवारीका होटल व्यवसायी पासाङघिर्मी तामाङले भन्नुभयो, “धार्मिक मार्गअन्तर्गत देउरालीदेखि चन्दनवारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्मका सबै होटलका खाद्यान्न भण्डारण भइसकेकाले यहाँका व्यवसायी यात्रुमाझ सेवा दिन आतुर रहेको बताउनुभयो । गोसाइँकुण्ड जाने भक्तजनका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाई सकिएको बताउँदै जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरूष ढकालले कुनै पनि यात्रुलाई कुनै समस्या भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं ०१०–५४०१९९ वा १०० मा फोन गर्न आग्रह गरिएको जानकारी दिनुभयो । लौरीको लागि निगालो मात्र प्रयोग गर्न र गोसाइँकुण्ड तथा धार्मिक मार्गका भूभागमा जथाभावी फोहर नफ्याँक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।
Categorized in राष्ट्रिय