STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गीता, जीवन र स्मिता 'असार मास’ ल्याउँदै

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ५, सोमबार

माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भिजेको गीत- ‘असार मास’ सार्वजनिक हुने भएको छ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा  लोकप्रिय गायिका स्मिता प्रधानको स्वर,  सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीको शब्द र संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

गीत रेकर्डपछि गायिका प्रधानले उत्साहपूर्वक भन्नुभयो, ‘यो गीत गाउनु मात्र नभई महसुस गर्नु थियो । यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ ।’

सेवा रेकर्डिङ स्टुडियोका निर्देशक तथा गायक अशोक मुकारुङले गीतको प्रशंसा गर्दै भन्नुभयो, ‘जीवन शर्मासँगको सहकार्यबाट सधैं विशेष सिर्जना जन्मन्छ । ‘असार मास’ पनि त्यस्तै सशक्त गीत बनेको छ ।’

जीवन शर्मा, जो सिक्किममा रहेर साहित्य, कला र संगीतका विविध विधामा कलम चलाइरहेका छन्, उनका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । 

गीतकार गीता अधिकारीका एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भन्नुभयो, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’

गायिका स्मिता प्रधानका अनुसार, गीत चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘असार मास’ केवल गीत नभएर,  माटोको स्पन्दन, किसानको जीवनगाथा, अनि प्रकृतिप्रतिको सुमधुर माया रहेको आफूले पाएको गायिका प्रधानले बताए ।

भारत कालिम्पोङ कि स्मिता प्रधान एक प्रतिभाशाली गायिका हुन् जसले ‘द भ्वाइस अफ नेपाल सिजन–५’ मा भाग लिएर दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भएको थियो । विभिन्न चरण पार गर्दै नकआउट राउन्डमा पुगेर आउट भएकी उनले कोचहरूको र दर्शकहरूको मन जितेको थियो । बिजेता हुन नसकेपनी उहाँ गायन क्षत्रमा व्यस्त छन् ।

Categorized in साहित्य-कला