गाडी खरीदमा रु साढे तीन करोड खर्च
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ ।
खरीद गरिएको २९ वटा गाडीमध्ये पाँच वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएको छ भने अन्य गाडी जनप्रतिनिधि तथा कर्मचारीका लागि प्रयोग गर्ने गरिएको छ । नगरपालिकाले मारुती कार एक, ट्र्याक्टर दुई, टिप्पर एक, ब्याक्हुलोडर दुई, रोलर एक, कम्प्याक्टर एक, जीप टाटा एक, मोटरसाइकल एक, १५० सिसीका मोटरसाइकल ११ र १२५ सिसीका मोटरसाइकल आठ वटा खरीद गरिएको सूचना अधिकारी खरेलले बताउनुभयो ।
उहाँका अनुसार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले चढ्ने गाडीको मूल्य रु ५१ लाख ९० हजार २६५ को टाटा जीप रहेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतका लागि मारुती कार खरीद गर्न रु ३९ लाख १९ हजार ४६९ खर्च भएको छ ।
त्यस्तै १९ वटा वडा कार्यालय र एउटा जनस्वास्थ्य महाशाखासहित २० वटा मोटरसाइकल खरीद गर्दा रु ४१ लाख १४ हजार ३७९, त्यसैगरी दुई वटा ट्र्याक्टर खरीद गर्दा रु २८ लाख ९० हजार, एउटा टिप्पर खरीद गर्दा रु ५० लाख ४४ हजार २४७ खर्च भएको छ । दुई वटा ब्याक्हुलोडर खरीद गर्दा रु ६० लाख ५४ हजार ८६७, एउटा रोलर खरीद गर्दा रु ३१ लाख ७२ हजार ५६६ र एउटा कम्प्याक्टर खरीद गर्दा रु ४१ लाख ५० हजार खर्च गरेको सूचना अधिकारी खरेलले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय


