STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाउँ ब्लक जग्गाधनी पुर्जा पाउन थालेपछि खुशीयाली

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २७, बुधबार

पश्चिम नवलपरासीस्थित नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् । विसं २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले विविध कारणले व्यक्तिको जग्गा छुट्याउन समय नभएपछि गाउँ ब्लकका नाममा सिङ्गो गाउँको एउटै कित्ता बनाएर जग्गा नापी गरेका थिए । गाउँ ब्लक भनेर नापी भएको जग्गा पश्चिम नवलपरासीमा ५१३ हेक्टर छ । नापी कार्यालय परासीका प्रमुख नापी अधिकृत सुग्रिव यादवका अनुसार साविक सुनवल, माकर, कुडिया, हरपुर, गेरमी, कुश्मा, पाल्ही, सनई, प्रतापपुर, सोमनी, बडहरा दुवौलियालगायतका ४१ गाविसमा गरी एक हजार ५८ गाउँ ब्लक सङ्ख्या रहेको छ । लालपुर्जा नपाउने जिल्लामा २० हजार स्थानीयवासी रहेकामा अहिले अधिकांशले पुर्जा पाएको यादवले बताउनुभयो । नापी कार्यालयले गाउँ ब्लकको सबै जग्गा नापनक्सा गरिसकेको छ । “अहिलेसम्म १५ हजार बढीले पुर्जा पनि पाइसकेका छन्, पुर्जा तयार भएकोलाई वितरण गरिरहेका छौँ भने अन्यलाई प्रक्रिया पु¥याएर वितरण गर्ने काम चलिरहेको छ”, उहाँले भन्नुभयो । नेपाल सरकारले विसं २०६१÷६२ देखि गाउँ ब्लकको जग्गा नापी गरी लालपुर्जा वितरण गर्न थालेको थियो । पश्चिम नवलपरासीमा विसं २०६३ देखि गाउँ ब्लकको जग्गा नापी शुरु भर्ई आव २०७१÷७२ मा सकिएको थियो । विसं २०७० देखि नै पुर्जा वितरण हुँदै आएकामा साविक ३५ गाविसका नागरिकलाई पुर्जा वितरण गरिसकिएको नापी अधिकृत यादवले जानकारी दिनुभयो । “यस वर्ष मात्रै साविक कुडिया, प्रतापपुर, सोमनी, गुठीप्रसौनी, बैदौली, पक्लिहवा, पञ्चनगर, बडहरा दुवौलियालगायतमा गरी तीन हजार ५०० लाई पुर्जा वितरण गरिएको छ, अब बाँकी गाविस अर्थात् हालको पाल्हीनन्दन गाउँपालिकामा मात्रै पुर्जा वितरण गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “त्यहाँ वैशाखभित्र हामीले पुर्जा वितरण गरिसक्छौँ, रामग्राम नगरपालिकाका केही वडा र सनई पुर्जा वितरणका लागि प्रक्रिया चलिरहेको छ, यसै आर्थिक वर्षभित्र जिल्लाका सबै गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिसक्छौँ ।” पाल्हीनन्दन गाउँपालिकाअन्तर्गतका साविक हरपुर, कुश्मा, गेरमी, पाल्ही लगायतका गाविसमा चार हजार पुर्जा वितरणको तयारी भइरहेको छ । पुर्जा नपाउँदा स्थानीयवासी सरकारी कामकाज, बैंकिङ कारोवार तथा व्यावसायिक कामबाट वञ्चित थिए । अहिले आफ्नो नाममा छुट्टाछुट्टै लालपुर्जा पाउन थालेपछि सहज भएको उनीहरुले बताउन थालेका छन् । पुर्जा पाएपछि खुशी हुँदै प्रतापपुरका अर्जुन चौधरीले भन्नुभयो, “पाँच पुस्तादेखि भोगचलन गर्दै आएको जग्गाको बल्ल पुर्जा पाएँ, हामीले धेरै सङ्घर्ष पनि ग¥यौँ, अहिले पुर्जा पाउँदा निकै खुशी लागेको छ, विगतमा जस्तो गल्ती नगरी सबैले जोतभोग गरेको जग्गा पाउनुपर्छ ।” रामग्राम–६ पोखरापालीका गौरीशङ्कर जयसवाल पनि जग्गाधनी पुर्जा पाउने भएपछि उत्साहित हुनुहुन्छ । उहाँको वडामा नापी भई अहिले दाबीविरोधलगायतका प्रक्रिया चलिरहेको छ । नापी कार्यालयका अनुसार वर्षौँदेखि भोगचलन गर्दै आएका स्थानीयवासीलाई स्थानीय तहले बसोबास प्रमाणितको सिफारिश गरेको आधारमा पुर्जा वितरण गरिएको छ ।
Categorized in राष्ट्रिय