
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा स्थगित
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १०, बिहिबार

काठमाडौँ - प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार बसेको बैठक गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्माणार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
गणपूरक सङ्ख्या पुग्न एक चौथाइ अर्थात् ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका छन् ।
यसअघि नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो ।
यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।
बस्नेत भ्रष्टाचार प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको, किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको तथा ज्वाला बालकुमारी घटनाको मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने एमालेको माग छ ।
Categorized in राजनीति