Salt Trading
Swasthya Mantralaya
Prabhu Bank Header Bottom

गठबन्धन पार्टीहरूलाई साझा कार्यक्रम तय गर्न माओवादीको आह्वान

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ६, बुधबार

काठमाडौं - नेकपा माओवादी केन्द्रले गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटो भन्दा छिटो तय गर्न आह्वान गरेको छ । माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धता तय गर्न आह्वान गरेको हो ।

बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउन नहुने र विगतमा गरिएका प्रतिबद्धताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले हिजो जुन प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्यौँ, त्यो कुनै पनि ढङ्गबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ ।

त्यसका निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटो भन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर कार्यक्रम र प्रतिबद्धता तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । र त्यसैअनुसार कार्यदलका सदस्यहरूलाई निर्देशन दिइएको छ ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक साउन २० गते र स्थायी कमिटीको बैठक साउन १७ गते निर्णय पनि गरेको छ ।

त्यसैगरी साउन ९ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडा र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

Categorized in राजनीति
Newa Online Adv