STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गठबन्धनको पक्षमा माहोल बनेको छ ः नेपाल

Janjati Khabar | २०७९ बैशाख २२, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गर्नुभयो ।

नेपालले भन्नुभयो, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उहाँले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । चुनावको माहोल अनुकूल बनाउने भन्दै उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताउनुभयो । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उहाँले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भन्नुभयो ।

“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”

Categorized in राजनीति