STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ख्यातिप्राप्त चलचित्रकर्मी चेतन कार्कीको नाममा प्रतिष्ठान स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र १५, मंगलबार

ख्यातिप्राप्त गीतकार, कवि तथा फिल्म निर्देशक अमर चलचित्रकर्मि  चेतन कार्कीको नाममा ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो।  

विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा विशिष्ट चलचित्रकर्मी एवं लेखक अभिनेता मोहन निरौला, महासचिवमा कवि मुरारि सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारश कार्की र पंकज कार्की रहनु भएको छ ।

प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरुमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र कवि दिब्य गिरि रहनु भएको छ ।

विक्रम संवत् १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिनु भएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धबीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । चेतन कार्कीले निर्देशन गरेको पहिलो चलचित्र "विश्वास" हो त्यसपछि मनका आँखा, भूमरी , पहिलो प्रेम  रहेको छ ।

यसैगरी परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यासहरु तथा कल्पना टूट चुकी है (कविता–हिन्दी/उर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रितीको चोखो कथा (गीत संग्रह), हत्केलालले सधैं भरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसि बियाँलो (कथा संग्रह), दिल जीगर के टुकडे (उर्दू बयाज)आदि पनि रचना गर्नु भएको छ ।

चेतन कार्कीको पहिलो नाटक आत्मा बेचेको छैन हो भने पहिलो उपन्यास पनि "आत्मा बेचेको छैन" नै हो। यसैगरी पहिलो गीत संगीत महर्षी नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा  रहेको "दाइलाई बोलाउ भने लेक स्वर पुग्दैन , बोलाइरन हुँदैन" हो ।

विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गर्नु भएका चेतन कार्की चलचित्रमा भने २०२५ सालदेखि आबद्ध हुनु भएको हो । चेतन कार्कीले रचना गर्नु भएका दर्जनौं गीतहरु अत्यधिक लोकप्रिय छन् । ती मध्ये तीजको रहर आयो बरी लै…सर्वाधिक लोकप्रिय गीत रहेको छ । उहाँले माया प्रीति, कान्छी, कन्यादानसहित थुप्रै चलचित्रहरुका लागि गीत रचना गर्नु भएको छ । नातिकाजीको संगीत, तारा देवी र भुवन थापाको स्वरको ‘बोलाउँ भने लेख स्वर पुग्दैन…’ चेतन कार्कीद्वारा रचना गरिएको पहिलो नेपाली गीत पनि हो ।

यस प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा रहने भएको छ । यसैगरी चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिहको नामको पुरस्कारलाई पनि प्रतिष्ठानबाट निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, उहाँका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो । चेतन कार्कीले नेपाली संस्कृति, कला र साहित्य तथा चलचित्र क्षेत्रमा पुर्याउनु भएको समग्र योगदानको प्रचार प्रसार गर्दै उच्च कदर गर्ने प्रतिष्ठानले जनाएको छ ।

Categorized in सिनेमा