STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलमैदान निर्माणमा दलीय आरोप–प्रत्यारोप

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी नेकपा रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो । प्रदेश नं ५ सरकारको रु ३० लाखको लागतमा बन्न लागेको खेलमैदान प्रक्रिया पूरा नगरी निर्माण गर्न लागिएको भन्दै नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका संयोजक जनक पुनले इलाका वन कार्यालय होलेरीमा उजुरी गरेपछि विवाद बढेको हो । उजुरीसँगै उक्त खेलमैदान निर्माणकार्य रोकिएको छ । पुनले गत साउन ६ गते उजुरी दर्ता गराउनुभएको थियो । खेलमैदान निर्माण गरिने ठाउँ सामुदायिक वनको क्षेत्र पर्ने भएकाले ठूलो मात्रामा वन विनाशको सम्भावना रहनुका साथै पर्यवरणीयरूपमा समेत प्रभाव पर्ने भएकाले तत्काल निर्माणकार्य रोक्न निवेदकले माग गरेको बताइएको छ । विकास निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कनसमेत गर्नुपर्ने भए पनि गाउँपालिकाले सो नगरी निर्माणकार्य अगाडि बढाएको निवदेक पुनले उजुरीमा उल्लेख गर्नुभएको छ । यस पूर्व गाउँपालिकाको दुई स्थानमा खेलमैदान निर्माणको नाममा बजेट खर्च भइसकेकाले पुनः अर्को खेलमैदान बनाउनुको साटो पहिले बनेकालाई निरन्तरता दिनुपर्ने आफूहरुले सुझाव दिएको संयोजक पुनले बताउनुभयो । यसै विषयलाई लिएर दुई दलबीच प्रेस विज्ञप्ति निकालेर एकले अर्कोलाई उछितो काढ्ने काम भएको थियो । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले गत साउन ११ गते प्रेस विज्ञप्ति जारी गरेको थियो । जारी विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो आर्र्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने योजना यसै आर्थिक वर्षको साउन ४ गते मात्र निर्माण आरम्भ गरियो ।’ विज्ञप्तिमा सीमित व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरिएको, गाउँपालिकामा क्रियाशील राजनीतिक दलसँग छलफल, परामर्श नगरिएको आरोप लगाइएको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका संयोजक पुन र छायाँ सरकार प्रमुख टेकबहादुर बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफूहरु विकासविरोधी नभई विधि, प्रक्रिया मिचेर गरिने विकासलाई समर्थन गर्न नसकिएको औँल्याइएको छ । यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रुन्टीगढी गाउँपालिकाले साउन १९ गते प्रेस विज्ञप्ति जारी गरेको छ । पार्टीको गाउँपालिका अध्यक्ष आशाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार असफल पार्न नेपाली काङ्ग्रेस शुरुआतदेखि नै प्रयासरत रहेको आरोप लगाइएको छ । पारदर्शी ढङ्गबाट निर्माणकार्य गर्न थालेपछि अत्तालिएको काङ्ग्रेसले खेलमैदान निर्माणकार्यमा गरेको अवरोधले प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त बजेट फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा जनाइएको छ । सार्वजनिक सूचनामार्फत प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको काम थालिनुका साथै सरोकारवालाको सहभागितामा छलफल गरी निर्माणकार्य आरम्भ गरिएको विज्ञप्तिमा दाबी गरिएको छ । स्थानीय तह निर्वाचनमा पूर्वनेकपा एमालले जिल्लाका दुई गाउँपालिका जितेको थियो । सो मध्ये रुन्टीगढी गाउँपालिका एक हो ।
Categorized in राष्ट्रिय