STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुकुरी व्यवसायले फेरिएको दैनिकी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

पुख्र्यौली पेशालाई आधुनीकिकरण र औद्योगीकरण गर्न सके स्वदेशमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने नमूना उदाहरण हुन्, मन्दिरा भोजपुरे खुकुरी उद्योग बडहरामाल–२ बन्दीपुरका सञ्चालक ४५ वर्षीय टङ्कबहादुर विश्वकर्मा ।
 
पुस्तौनी रुपमा खुकुरी बनाउँदै आउनुभएका विश्वकर्माले खुकुरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । यही व्यवसायबाट उहाँले आफ्ना दुई छोरा, एउटी छोरीलाई लेखपढ र राम्रै थातथलोको पनि जोहो गर्नुभएको छ । 
 
खुकुरी व्यवसायको आम्दानीबाटै विश्वकर्माले आफ्ना जेठा छोरा विष्णुलाई व्यवस्थापनमा स्नातकोत्तर, कान्छो छोरोलाई इञ्जिनीयर र छोरीलाई स्टाफनर्स पढाउन सफल हुनुभएको छ । उहाँले खुकुरी व्यवसायबाटै जिल्लाकै बडहरामालमा तीनतल्ले पक्की घर जोड्न सफल हुनुभएको छ ।
पुख्र्यौली घर भोजपुरबाट धरान हुँदै विसं २०५५ मा सिरहाको बन्दीपुर आउनुभएका विश्वकर्माले खुकुरी निर्माणकार्यलाई व्यावसायिकरूपमा सञ्चालन गरेको बताउनुभयो । खुकुरीकै कमाइबाट स्थानीय बन्दीपुर बजारमा एउटा सुन पसल जेठो छोराले चलाइरहेका जानकारी दिँदै उहाँले भन्नुभयो, “जेठो छोरो विष्णु स्थानीय राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयमा लेखापालको काम पनि गर्छ, बाँकी समय सुन पसलमा बस्छ र फुर्सदको समयमा हामीलाई पनि सघाउँछ ।”
 
खुकुरी उद्योगमा आफूसहित भोजपुर, खोटाङ र तेह्रथुमका १२ कालिगढले काम गर्ने आएका बताउँदै टङ्कबहादुरले भन्नुभयोे, “एक कालिगढ मासिक रु ३० हजारभन्दा बढी कमाउँछन्, सीप र जाँगर भएकालाई विदेशभन्दा आफ्नै ठाउँमा कमाउन सकिन्छ ।” मन्दिरा भोजपुरे खुकुरी उद्योगमा उत्पादन हुने खुकुरीको मूल्य न्यूनतम रु ४०० देखि अधिकतम रु पाँच हजारसम्म पर्ने गरेको छ । 
“खुकुरी बनाउन मात्रै समस्या हो, अहिलेसम्म बजारको खासै अभाव भएको छैन्”, उहाँले भन्नुभयो । आफूले बनाएका खुकुरी सेना, सशस्त्र प्रहरी क्यम्पमा एकै पटकमा चार–पाँच सय बिक्री हुने गरेका उहाँले बताउनुभयो । त्यसबाहेक बर्दिवास, जनकपुर, सर्लाही, वीरगञ्ज, हेटाँैडाका व्यवसायी र छिटपुट ग्राहकले लैजाने गरेका उहाँले जानकारी दिनुभयो ।
 
पछिल्ला दिनमा मेला महोत्सवलाई पनि बजारका रूपमा लिएको उल्लेख गर्दै  उहाँले भन्नुभयो, “यस्ता मेला तथा महोत्सवमा पनि राम्रो व्यवसाय हुने गरेको छ, गत वर्ष लहानमा भएको सगरमाथा महोत्सवमा रु दुई लाख मूल्य बराबरको कारोबार भयो ।” अत्याधुनिक हतियारको विकास भए पनि खुकुरी व्यवसायमा कुनै फरक नआएको विश्वकर्माको भनाइ छ । 
एक कार्यक्रममा बन्दीपुर आउनुभएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल र एनआरएनका तत्कालीन अध्यक्ष उपेन्द्र महतोलाई आफूले बनाएको खुकुरी उपहारका रुपमा दिएको उहाँले सुनाउनुभयो । उहाँले गर्वका साथ भन्नुभयो, “त्यस समय प्रचण्डलाई खुकुरी उपहार दिएको विषयमा स्थानीयस्तरमा राम्रै चर्चा भएको थियो, त्यसबेला जनयुद्धबाट आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई खुकुरी उपहार दिन पाए ।” 
Categorized in बिजनेस