कोलम्बियाद्वारा सन् २०३० को विश्वकप सहआयोजक हुन इच्छा व्यक्त
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २९, आइतबार
कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताउनुभयो ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सार्नु भएको थियो । कोलम्बियाको लेटिसियामा आयोजित एक सम्मेलनका क्रममा राष्ट्रपति डोकुले भन्नुभयो, “इक्वेडरका राष्ट्रपतिले राख्नुभएको प्रस्तावलाई आफ्नो समर्थन रहेको बताएँ ।”
राष्ट्रपति डोकुले विश्वकप फुटबल आयोजनाका लागि फिफासँग अनुरोधका सन्दर्भमा आवश्यक तयारी गर्न कोलम्बियाली अधिकारीहरुलाई निर्देशन दिइसकेको पनि जानकारी दिनुभयो ।
दक्षिण अमेरिकाबाटै सन् २०३० का लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले पनि संयुक्त दाबी गर्दैछन् । सन् २०३० को विश्वकप फिफा विश्वकपको १०० औं वर्षगाँठ हुनेछ । पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले जितेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय