STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना संक्रमणबाट सुरक्षित हुँदै २६ औं महानगर दिवस मनाइने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर २८, आइतबार

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले मंसीर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।   वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई आधार मानेर यो वर्ष पनि मंसिर २९ गते अर्थात भोलि सोमबार महानगरपालिकाले आफ्नो २६ औं महानगर दिवस विविध कार्यक्रमसहित मनाउँदै छ । 

अहिले विश्व नै कोरोनाको कहरमा छ । नेपाल र त्यसमा पनि संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिका पनि कोरोना कहरका कारण आक्रान्त छ । कोरोना रोकथाम र नियन्त्रणका विभिन्न प्रयास भैरहेको अवस्थामा विगतका वर्षहरुमा जसरी योपटक महानगर दिवस धुमधामका साथ बनाउने अवस्था रहेन । सकेसम्म स्वस्थ्य मापदण्डको पालना गर्दै र सीमित कार्यक्रमका साथ यो पटक महानगर दिवस मनाउने तयारी भएको जानकारी गराउन चाहन्छु ।  

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा केही सकारात्मक प्रयास गर्दै आएको छ । योसँगै महानगर दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले स्वास्थ्यसँग सम्वन्धित केही महत्वपूर्ण घोषणाको तयारी गरेको छ । यही अवसरमा काठमाडौँ महानगरपालिकाले ‘मृगौला बचाउ अभियान’ घोषणा गर्दैछ । समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयमा पीडा खप्नु पर्ने मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको हो । 

पूर्वाधार विकास, हरियाली प्रवद्र्धन, सम्पदा निर्माण–पुनर्निर्माण, सेवा प्रवाहलगायतमा काठमाडौं महानगरपालिकाले गरिरहेका विविध कार्यक्रम र आगामी कदमका लागि महानगरवासीको अभिमत लिन यो पटक महानगर दिवसकै अवसर पारेर धेरै मानिस आवतजावत हुने शहरका विभिन्न ३० स्थानमा ‘अभिमत संकलन बुथ’ राखिएको छ । तीन दिनसम्म यो बुथ राखिने छ । यो पटक मेयर्स अवार्डको पनि व्यवस्था गरिएको छ । 

महानगर दिवसलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यज्युको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सदस्य रहेको २६ औं महानगर दिवस मुल समारोह समिति गठन गरिएको छ । यसैगरी क्षेत्रगत कामका लागि विभिन्न उपसमितिहरु गठन भएका छन् । 

यस वर्ष महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका गुरुहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मानबाट सम्मानित हुनेलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने छ । 

त्यसैगरी काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ प्रदान गरिने छ । पुरस्कारबाट २ जना पुरुष २ जना महिलालाई सम्मान गरिने छ ।  

सेवा प्रवाहमा निरन्तर खटिरहेका काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवाभावमा थप अभिप्रेरित गर्ने हेतुले ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई स्थानीय सेवा गौरव पदकबाट सम्मानित गरिनेछ । यस पुरस्कारबाट सम्मानित हुनेलाई १ लाख नगद र पदकसहित सम्मानपत्र प्रदान गरिने छ । त्यसैगरी १० जना कर्मचारीलाई नगद २५ हजार रुपैयाँसहित उत्कृष्ट सम्मान पुरस्कारको व्यवस्था गरिएको छ । महानगर गीतका सर्जक लगायतलाई पनि २६ औं महानगर दिवसको अवसरमा सम्मान गर्ने तयारी भएको छ ।  महानगरबाट प्रवाह हुने सेवा तथा कामका बिषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिको पहुँचसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सञ्चारकर्मीमध्ये १० जनालाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । साथै इन्द्रजात्रा सम्बन्धी अनुसन्धानात्मक पुस्तक विमोचन, उत्कृष्ट वडाको घोषणा एवं सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।  

अन्त्यमा, काठमाडौँ महानगरपालिकाका कामहरूलाई आफ्नो सञ्चारमाध्ययममार्फत जनता समक्ष पुर्याउन निरन्तर सहयोग गर्नुभएकोमा सञ्चारकर्मिहरुमा आभार प्रकट गर्दै आगामी दिनमा समेत  निरन्तर रचनात्मक सुझाव र काम गर्ने सन्दर्भमा भएका कमीकमजोरी प्रति सन्चाजगतबाट खवरदारी भइरहोस् भन्ने चाहेकाे कुरा काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्यले बताउनु भएको छ ।

Categorized in उपत्यका