कोभिड जस्तो अदृष्य शत्रुसँगको लडाईँ जित्न सबैको सहकार्य आवश्यक : मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरले चिकित्सक संघलाई ज्याकेट प्रदान आफ्नो ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभएको हो । राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोविड–१९ जस्तो अदृष्य शत्रुसँगको लडाईँमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौँ अहिले तुलनात्मक रुपमा शान्त रहेको भन्दै चालिस लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकहरुको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो । मेयर शाक्यले अहिले भारतबाट नेपाली नागरिकहरु नेपाल आउने क्रम बढीरहेको र केही समयपछि खाडी, मलेसियालगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरुको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्र्दभमा पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताउनुभयो । उहाँले चिकित्सकहरु विज्ञता दिन तयार रहेको भन्दै सबैको सहयोग आवश्यक भएको बताउनुुभयो । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले काठमाडौँ महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँको भनाइ अनुसार यस कार्यका लागि नाटक, विज्ञापन आदिका माध्ययमबाट पनि जनचेतना फैलाउन सकिन्छ । त्यसका लागि हामीसँग विज्ञ जनशक्तिको प्रयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाललगायत पनि सहभागी हुनुहुन्थ्यो । चिकित्सक हरुलाई ज्याकेट सहयोग गर्ने यो कार्यक्रम को संयोजन क्षेत्रपाटी निशुल्क चिकित्सालयका अध्यक्ष डा मनोज मान श्रेष्ठले गर्नु भएको थियो । Categorized in उपत्यका


