STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर नपाले गरेको गल्ती लिखित रुपमा सच्याउनु पर्छ : संस्कृतिविद् प्रयागमान प्रधान

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र २९, मंगलबार

कीर्तिपुर/‘कीर्तिपुर नगरपालिकाले लाय्कू टोलमा कीर्तिपुर दरबार निर्माण गर्ने सन्दर्भमा गल्ती गरेको छ । गल्ती के हो त भने, संचारमाध्यममा कीर्तिपुर नगरपालिकाले कीर्तिपुर दरबार पुनःनिर्माणको लागि ६ करोड रकमको टेण्डर आह्वानको लिखित रुपमा विज्ञापन गरिसकेको छ । अब आएर मेयरसाबले त्रुटिबस् कीर्तिपुर दरबार हुन गयो, दरबारको झल्को दिने स्वरुपमा १ वडा भवन मात्र निर्माण गर्न लागेको खुलासा गरेको सुन्नमा आएको छ । नगरपालिकाले धेरै उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ । अब कीर्तिपुर दरबार निर्माणको सन्दर्भमा हचुवा ढंगले व्यवहार गर्न नगरपालिकालाई छूट छैन । जसरी लिखित रुपमा कीर्तिपुर दरबार पुनःनिर्माण गर्ने उल्लेख गर्दै राष्ट्रिय दैनिकमा टेण्डर आह्वानको विज्ञापन प्रकाशित गरियो, यदि कलात्मक वडा भवन मात्र निर्माण गर्ने हो भने लिखित रुपमा संशोधन पनि सार्वजनिक गर्नु प¥यो । के दरबारको झल्को दिने वडा भवन निर्माण गर्न ६ करोडको टेण्डरसहित विज्ञापन निकाल्नु जरुरी छ र ? अरु वडामा पनि वडा भवन निर्माण भएको छ, ती वडाहरुले पनि टेण्डर आह्वान गरेको छ कि छैन थाहा भएन । लिखित रुपमा संशोधन सार्वजनिक नभएसम्म कीर्तिपुर नगरपालिका दोषी नै ठहर हुन्छ ।’ यो भनाई हो ऐतिहासिक नगर कीर्तिपुरका संस्कृतिविद् प्रयागमान प्रधानको ।

कीर्तिपुर नगरपालिकाले केही हप्ता अगाडि जिल्ला विकास समन्वय समितिको आर्थिक सहयोगमा १ वडा लायकू टोलमा ‘कीर्तिपुर दरबार पुनःनिर्माण’को कुरा राख्दै ६ करोड रकमको टेण्डर आह्वानको विज्ञापन प्रकाशित गरेको थियो । जुन विज्ञापनमाथि कीर्तिपुर क्षेत्रका सम्पदा एवं संस्कृतिप्रेमीको नजर प¥यो, र ती व्यक्तित्वहरुले सचेतनाका कार्यक्रमलाई तिब्रता दिदैं निरन्तर रुपमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदै आइरहेको छ ।

पछि नगरपालिकाको एक पत्रकार सम्मेलनमा मेयर रमेश महर्जनले उक्त विज्ञापनमा भूलबस, कीर्तिपुर दरबार हुन गएको र लायकू टोल दरबार क्षेत्र भएको कारण मात्र लायकू टोलमा अवस्थित १ वडा भवन कलात्मक रुपमा दरबारको झल्को दिने खालको भवन निर्माण गर्न लागेको प्रष्ट पार्नु भएको थियो ।

यही चर्चा परिचर्चाको विषय बनिरहेको १ वडा भवन र कीर्तिपुर दरबारको सन्दर्भमा कीर्तिपुरका संस्कृतिविद् एवं लायकू टोलमैं जन्मी हुर्किनु भएका संस्कृतिविद् प्रयागमान प्रधानले जुन स्थानमा १ वडा भवन रहेको छ, त्यो तलेजु भवानीको मन्दिर परिसर भएको र अहिले दरबारको झल्को दिने भवन बनाउने योजना नगरपालिकाले राखेको छ । तर, त्यो स्थानमा सानो ठूलो जुन भए पनि तलेजु मन्दिर पनि निर्माण गर्नुपर्ने धारणा राख्नु भयो ।

त्यस्तै संस्कृविद् प्रधानले दरबारको नामाकरण नगरीकन भवन बनाए पनि सतल बनाए पनि त्यो वडा भवनको नाममा रुपान्तरण नगरी ऐतिहासिक महत्वको ‘तलेजु भवन या तलेजु सतल’ नामलाई उजागर गर्नुपर्ने  र वडाले कार्यालय संचालनको लागि सीमित अवधिका लागि कोठाहरु प्रयोजन गर्नुपर्ने र वडा भवन अन्य स्थानमा निर्माण हुनु पर्ने विचार पनि राख्नुभयो ।

यही क्रममा लाय्कू टोल निवासी कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष हर्ष महर्जनले दरबारको झल्को दिने उक्त भवनमा वडासंगै स्थानीय बासिन्दाका लागि सांस्कृतिक हल, पर्यटकीय आकर्षक हुने किसिमको म्यूजियम आदि इत्यादी हुने जानकारी दिनुभएको छ । यो विषयमा जनता अन्यौल अवस्थामा छन् । नगरपालिकाले जनता सामू तथ्य के हो त ? खुलासा गर्नु पर्ने अहिलेको परिस्थिति देखिन्छ । अब हेरौं जनता जिन्दावाद  के भन्छन् त जनताहरु ?

Categorized in उपत्यका