कीर्तिपुर नपाको हाकिम पद त्याग गर्दै काठमाडौं १० को चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार अनुज प्रधान
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ फाल्गुण ६, बुधबार
काठमाडौं चुनावी क्षेत्र नम्बर १० का भंगेरा चुनाव चिन्हबाहक स्वतन्त्र उम्मेदवार अनुज प्रधानले चुनावमा हारजितको भन्दा पनि देश र जनताको प्रिय पात्र हुनु पहिलो प्राथमिकता हो भन्दै भन्नु हुन्छ, “सबै मिले सम्भव छ ।”
–ललेन्द्र शाक्य
कीर्तिपुर । कीर्तिपुर नगरपालिकामा सातौं तह अधिकृतको रुपमा कार्यरत कीर्तिपुर नगरपालिका १ वडा लायकू टोल निवासी अनुज प्रधान, उक्त पद परित्याग गरी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भंगेरा चुनाव चिन्हका साथ काठमाडौं क्षेत्र नम्बर १० मा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्नु भएको छ ।
चुनावी प्रचारप्रसारको दौरानमा हालै भंगेरा चुनाव चिन्हबाहक स्वतन्त्र उम्मेदवार अनुज प्रधानले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
सुशासन, पारदर्शिता र विधिको शासन सुदृढ गर्ने प्रतिबद्धताका साथ युवालाई रोजगारी, सीपमूलक तालिम र उद्यमशीलतामा जोड दिई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि रहेको छ अनुज प्रधानको ।
यस्तै, किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोगजारमुखी, गुणस्तरीय र समान पहुँचयोग्य बनाउने प्रतिबद्धता पनि स्वतन्त्र उम्मेदवार प्रधानको रहेको छ ।
सबै नागरिकलाई सुलभ, गुणस्तरीय र प्रभावकारी आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने वाचाका साथ स्वतन्त्र उम्मेदवार अनुज प्रधानले महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र पिछडिएका समुदायको हक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।
स्वतन्त्र उम्मेदवार प्रधानले स्वच्छ खानेपानी, सरसफाई र आधारभूत पूर्वाधार विस्तार गर्ने तथा वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र हरित विकासलाई प्राथमिकता दिने एवं काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रलाई हरित शहरको रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्दै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सन्तुलित परराष्ट्र नीति मजबूत बनाउने लक्ष्य रहेको जानकारी पनि चुनावी प्रतिबद्धतामा उल्लेख गरेको छ ।
जनतासंग नियमित संवाद, जवाफदेहिता र जनउत्तरदायी प्रतिनिधित्व सुनिश्चित गर्ने एवं स्थानीय सरकार संचालन जनमैत्री तथा प्रभावकारी बनाउने प्रतिबद्धता पनि स्वतन्त्र उम्मेदवार प्रधानले गरेको छ ।
भंगेरा चुनाव चिन्हबाहक स्वतन्त्र उम्मेदवार अनुज प्रधानले सहकारी पीडितका समस्या समाधानका लागि जोडदार आवाज उठाउने वाचा गर्दै आफ्नो चुनावी प्रतिबद्धतामा डिजिटल विकृतिको समाधान र सामाजिक संजाललाई मर्यादित तथा अनुशासित बनाउनका लागि कानून निर्माण गर्ने वाचा समेत गरेको छ ।
चुनावी प्रतिबद्धताको अन्तिम बुँदामा स्वतन्त्र उम्मेदवार अनुज प्रधानले अर्थतन्त्रको मेरुदण्ड पर्यटन र जलश्रोतको क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।
काठमाडौं १० नम्बर चुनावी क्षेत्रका स्वतन्त्र उम्मेदवार अनुज प्रधानले आफू स्वतन्त्र रुपमा जनतासमक्ष आउनका लागि कीर्तिपुर नगरपालिकामा सातौं तह अधिकृतको पद त्याग गरी चुनावी मैदानमा आएको विचार व्यक्त गरेको छ । प्रधान भन्नु हुन्छ, “हो, म कीर्तिपुर नगरपालिकामा हाकिमझैं सातौं तह अधिकृत कर्मचारीको रुपमा कार्यरत थिएँ । म कर्मचारी हुँदा कीर्तिपुर नगरपालिका मलाई पिँजडा सरहको अनुभूति भइरहेको थियो । त्यसैले स्वतन्त्र रुपमा जनतासमक्ष आउन उक्त पद त्याग गरें । भन्नुपर्दा पिँजडाभित्रको भंगेरा स्वतन्त्र रुपमा उड्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो । आफू पनि स्वतन्त्र रुपमा पिँजडारुपी नगरपालिकाको जागिर छोडी खुल्ला रुपमा जनतासामू उड्न चुनावमा आएको भन्नु पर्ला र चुनाव चिन्ह पनि भंगेरा नै रोजे । अहिले स्वतन्त्रताको आभाष भइरहेको छ ।”
काठमाडौं चुनावी क्षेत्र नम्बर १० का भंगेरा चुनाव चिन्हबाहक स्वतन्त्र उम्मेदवार अनुज प्रधानले चुनावमा हारजितको भन्दा पनि देश र जनताको प्रिय पात्र हुनु पहिलो प्राथमिकता हो भन्दै भन्नु हुन्छ, “सबै मिले सम्भव छ ।”
Categorized in राजनीति

