STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरमा १३ औं शहिद स्मृतिकप ब्याडमिन्टन प्रतियोगिता सुरु

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ चैत्र २१, सोमबार

२०४६ सालको जनआन्दोलनमा चैत्र २० गते कीर्तिपुरमा शहादत प्राप्त गरेका चार जना शहिदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको सम्झनामा निरन्तर रुपमा प्रत्येक वर्ष संचालन हुँदै आइरहेको शहिद  स्मृृतिकप ब्याडमिन्टन प्रतियोगिता २०७८ चैत्र २१ सोमबारबाट संचालन भएको छ ।

कीर्तिपुरको शहिद दिवसको उपलक्ष्यमा संचालित उक्त प्रतियोगिता चैत्र २१ देखि चैत्र २६ शनिबारसम्म संचालन हुनेछ ।

‘स्वस्थ, मित्रता र अनुशासनको लागि खेलकुद’ नाराका साथ सुरु भएको उक्त ब्याडमिन्टन प्रतियोगिता युवा खेलकुद समूहको आयोजनामा भएको हो भने कीर्तिपुर नगरपालिकाको सहकार्यमा संचालन भएको हो ।

सोमबार उद्घाटन भएको उक्त प्रतियोगिताको औपचारिक कार्यक्रममा अतिथिको रुपमा शिक्षाविद् प्रा.डा. रामकृष्ण महर्जन उपस्थित हुनुभएको थियो भने उहाँले प्रतियोगिताको उद्घाटन गर्नुभई रेफ्रीलाई ब्याड र कर्क हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा कीर्तिपुर ब्याडमिन्टन क्लबका अध्यक्ष दयाराम डंगोल, कीर्तिपुरको शहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष सिद्धिकुमार मानन्धर, समाजसेवी मानवअधिकारकर्मी शिक्षाविद् नन्दकुमारी महर्जन नानीमिस, नेपाल मजदुर किसान पार्टीका नेता हरिकुमार महर्जनका साथसाथै विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित भएका थिए । 

२५ वटा टीम सहभागी भएको उक्त ब्याडमिन्टन प्रतियोगिता एउटा इभेन्ट अन्तर्गत डबल खेल मात्र हुने जानकारी आयोजक संस्था युवा खेलकुद समूहले दिएको छ ।

उक्त प्रतियोगिता काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र दक्षिणकाली नगरपालिकाका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने जानकारी पनि आयोजक समूहले दिएको छ भने प्रतियोगिता कीर्तिपुरको पांगास्थित जनसेवा स्कूलको ब्याडमिन्टन कोर्टमा संचालन भएको छ ।

Categorized in खेलकुद