कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसको १९ औं वार्षिकोत्सव : ४३ जना दीक्षित
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ फाल्गुण ७, बिहिबार
कीर्तिपुर, फागुन ७ गते । स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई मंगल बहुमखी क्याम्पसले दीक्षित गरेको छ । क्याम्पस स्थापना भएको १९ औं वार्षिकोत्सवमा ती विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले ४३ जनालाई दीक्षित गर्नुभएको हो ।
कीर्तिपुर नयाँबजारस्थित केएनएस किचेनमा बिहीबार आयोजित कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरुलाई विदेशमा गएर अध्ययन गर्नुभन्दा पनि त्रिभुवन विश्वविद्यालयमै भर्ना भएर आफ्नो भविष्य निर्माण गर्न त्रिवि उपकुलपति प्रा.डा. अर्यालले आह्वान गर्नुभयो ।
उहाँले उच्च शिक्षालाई विश्वस्तरको बनाउनको लागि छुट्टै आयोग स्थापनामा जोड दिनुहुँदै हरेक क्याम्पसले अनुसन्धानमा काम गर्नु आवश्यक भएको चर्चा पनि गर्नुभयो ।
नेपालमा रहेका सामुदायिक क्याम्पसले शैक्षिकस्तरमा उल्लेखनीय योगदान दिएको बताउनु हुँदै प्रा.डा. अर्यालले सरकारले गरेको सहयोगमा वृद्धि हुन आवश्यकतामा जोड दिनुभयो ।
यस्तै, वागमती प्रदेशका पूर्वमन्त्री एवं हालका सांसद पुकार महर्जनले वागमती प्रदेशले सामुदायिक क्याम्पसलाई आवश्यकताको आधारमा सहयोग गरिने बताउनु भयो ।
उहाँले सरकारले स्नातक उत्तीर्ण परीक्षार्थीलाई रोजगार दिने गरी शिक्षा नीतिलाई परिवर्तन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले विद्यार्थीहरुलाई रोजगार दिने गरी प्राविधिक शिक्षामा जोड दिनुपर्ने विचार राख्नुभयो ।
उपप्रमुख शाक्यले कीर्तिपुरमै स्थापना भएको त्रिभुवन विश्वविद्यालयले यहाँका सामुदायिक क्याम्पसहरुलाई विशेष रुपमा सहयोग गर्नुपर्ने धारणा पनि राख्नुभएको थियो ।
क्याम्पस व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष तथा मगंल रिसर्च जर्नलका प्रधानसम्पादक प्रा.डा. लक्ष्मीबहादुर महर्जनले त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेर शैक्षिक उन्नयनको लागि योगदान दिने बताउनु भयो ।
क्याम्पस प्रमुख प्रदिप महर्जनले देशको माटो सुहाउँदो शिक्षा अपरिहार्य रहेको बताउनु हुँदै चाँडै स्नातकोत्तर तहमा पनि शिक्षा दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
यस्तै, कार्यक्रममा कृष्ण हीरा अक्षयकोष, रत्नबहादुर स्नातक, रत्नभाई नगद, विद्यानन्द नगद, रुद्रबहादुर स्मृति, टिकाचन्द्र विश्व अक्षय कोष, खेम, अनिस स्मृति, जुलुम शाक्य स्मृति, जया रत्ना नामका पुरस्कारहरु वितरण गरिएको थियो ।
भोजपुर नगरपालिका १२, टक्सारबाट अध्ययन गरेर दीक्षित हुनुभएका दिपेश शाक्यले यस क्याम्पसमा पाएको उत्कृष्ट शिक्षा र दीक्षालाई देश र समाजको हितको लागि सदुपयोग गर्ने प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुले देउडा, नेपालभाषा, तामागं सेलो, रिमिक्स नाचहरु, उखान टुक्का, मुक्तक, कविता र गीत प्रस्तुत गरेका थिए ।
Categorized in शिक्षा


