STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरका प्रथम जननिर्वाचित पूर्वमेयर हीराकाजी महर्जनको सठाइस वर्ष पुरानो ज्याकेट

Janjati Khabar | २०७८ भाद्र २१, सोमबार

–प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’

कीर्तिपुरको राजनीतिक इतिहासमा सच्चा कम्युनिष्ठको रुपमा चिनिने, जस्ले तीस बर्षको उमेरमै २०५४ सालमा स्थानीय चुनावमा निर्वाचित भएर कीर्तिपुर नगरको प्रथम मेयर बने, आज भन्दा चार बर्षअघि २०७४ सालको अन्त्यमा, तिनै हीराकाजी महर्जनलाई मैले एउटा क्याफेमा भेटाएँ । कफीमा निकै सौखिन उनलाई कफीको दुनियाँमा समातिनु सामान्य थियो । समसामयिक राजनीतिक  कुराकानी हुने क्रममा, अर्कै ज्याकेटमा देखिएका पूर्व मेयरलाई देखेर, मेरो छुच्चो मुख हल्लिहाल्यो ।

‘मेयर साहेब, तपाईको त्यो सदाबहार ज्याकेट खोई त ?’ सदाबहार हाँसो हाँस्दै मलाई मलाई उल्टो प्रतिप्रश्न गरे ‘प्रेमकृष्णजीलाई त्यो ज्याकेटको इतिहास थाहा छ ?’

मैले थाहा नभएको भावमा टाउको हल्लाएँ ।

त्यहिबेला कफीको चुस्कीसँगै ज्याकेटको इतिहास खोतलियो,

इतिहास यस्तो छ ।

२०४३ सालको कुरा हो । त्यतिबेला हीराकाजी महर्जन निर्वाचित भएर जिल्ला पञ्चायत सदस्य हुनुभएको रहेछ । जिल्ला पञ्चायत सदस्यले तत्कालीन समयमा १२ सय रुपैँया पारवहन भता भनेर पाइँदो रहेछ । त्यो बेला, दैनन्दिन आवश्यकता पूर्ति गरेर पनि त्यो आम्दानी उब्किन्थ्यो । त्यतिबेलाका क्रान्तिकारी नेता मोहनचन्द्र अधिकारी नख्खु जेलमा राजनीतिक बन्दीको जीवन बिताउँदै हुनुहुन्थ्यो । एकदिन त्यही पारवहन भताको तातो आफ्नो गोजीमा परेको बेला, जेलमा रहेका क्रान्तिकारी नेता मोहनचन्द्रलाई ज्याकेट उपहार दिने कुरा उनको मनमा खेलेछ । हालका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनका पिता बिष्णुबहादुर महर्जन र उनी एकदिन काठमाडौंको फसिकेब अर्थात् त्यतिबेलाको रञ्जना हलको बाटो  हुँदै आउँदा मोहनचन्द्रको कदलाई आँकलन गरेर अग्लै कदको ज्याकेट किन्नु भएछन् । त्यतिबेला नै ८०० रुपैंया परेको उक्त ज्याकेट उच्च कदको हुनुका साथै मोटोघाटो थियो । एउटा प्लाष्टिकको झोलामा उक्त ज्याकेट गुटमुटाएछन् ।

एकदिन ज्याकेट बोकेर नख्खु जेलमा मोहनचन्द्रलाई उपहार दिन प्रस्थान गरे । जेलरलाई हप्काउँदै गरेको तातोपिरो मोहनचन्द्रको अनुहार देखेर उपहार दिने हिम्मत त्यो दिन उनमा रहेन ।

अर्को दिन पनि उनी ज्याकेट गुटमुटाएर घरबाट प्रस्थान गरे । बाटामा उनको मनमा निकै कुरा खेलिरहयो । मोहनचन्द्र अधिकारीको स्वाभिमानको बारेमा शहरभरी चर्चा परिचर्चा थियो । ‘यो ज्याकेट किन ल्याइस् ? के म तिमीले ल्याएको ज्याकेट लगाउने खालको हुँ र ?’ भन्नेखालको  लवजले कडा प्रतिक्रिया दिएर ज्याकेटको बाहुला नै धर्रर च्यात्यो भने के गर्ने भन्ने परिकल्पनाले संत्रस्त भए । मोहनचन्द्र अधिकारी शरीरले मात्र नभई, स्वाभिमानले पनि अग्ला कदका थिए ।

लौ भएन यो ज्याकेट दियो भने बित्यास हुन्छ भनेर उक्त दिन पनि उपहारको झोला नखोलिकनै घर फिर्ता ल्याए ।

केही दिन ज्याकेट झोलामै रहिरहे । एकदिन बेवारिस बनेको उक्त ज्याकेटलाई आफ्नै मरन्च्याँसे जिउमा छिराए । मोहनचन्द्रको कदको ज्याकेट आफ्नो दुब्लो जिउमा छिराउँदा जिउमा छिरेको आभासै नदिइकन ज्याकेट जिउभरि भुक्क फुले । उक्त ज्याकेट लगाएपछि मान्छेहरुले ठट्टा गरे ‘हीराकाजी तिमी त मोटायो नि !’ उनले पनि बुझिहाले–ज्याकेट मोटाएको हो भन्न नसकी मलाई मोटाइदियो यिनीहरुले ।

आफ्नो आयु बाँच्ने क्रममा, धेरै मानिसका लागि धेरै भाव भए त्यो ज्याकेट । तीन प्रसंग उल्लेख गर्नु यहाँ सान्दर्भिक होला ।

ज्याकेटको सुरुवाती दिनमा, ज्याकेट किन्दाको सहयात्री बिष्णुबहादुर महर्जनले भनेछन् –‘ यो ज्याकेट तिमीलाई पटक्कै सुहाएन हेरकाई !’ बिष्णु बाको कुरालाई उनले मनमनै जवाफ दिए – मलाई जति सुहाउँछ यो ज्याकेटले अरुलाई ।

कसैको लागि आलोचना थियो त्यो ज्याकेट ।

ज्याकेटको प्रौढ अवस्थामा, कतै भोजमा जाँदा छोराले एउटा बाहुला, छोरीले अर्को बाहुला तान्दै भन्थ्यो– ‘बा, यो ज्याकेटमा नजानुस्, धेरै पुरानिसके, कोटमा जानुस् ।’
छोराछोरीहरु झुल्न खोज्ने, पिङ्ग पनि थियो, त्यो ज्याकेट ।

एकदिन नगाउँका साथी उमेश महर्जनको विवाहमा जन्ती जाँदा त्यही चीरपरिचित ज्याकेट लगाएर हिँडेका हीराकाजीलाई जन्तिवालहरुले सोधेछन् – ‘हीराकाजी कता ?’
‘जन्ति ।’

कसैले पत्याएनछन् । एकजनाले भनिहाल्यो – ‘यस्तो लुगाले पनि जन्ती आएको हुन्छ ?’ जस्ले जे भनेपछि उक्त दिन त्यो भीडमा उनले पनि एक संख्या थपे ।
कोटबालाहरुको लागि अबिश्वास पनि थियो त्यो ज्याकेट ।

२०५४ सालको स्थानीय चुनावमा पनि त्यही ज्याकेटमै उनी बढी देखिए । ज्याकेट र उनी पर्याय जस्तै भए । बगलमा दाँया बाया एक–एक गरी दुई, छातीमा दाँया बाँया एक–एक गरी दुई, पाखुरामा एक र भित्रपट्टि एक गोजी भएको उक्त ज्याकेटको आधा दर्जन गोजीले आफूलाई निकै धनी महसुस गरे । ज्याकेट किनेको बीस बर्षपछि बाहुलामा अलिकति समस्या आयो । सुचिकारकहाँ २० सेन्टिमिटर कपडा किनेर रफ्फु गरेर ज्याकेटलाई तदुरुस्त गरेको दिनमा उनमा फेरि नयाँ ज्याकेट किनेकै ताजगी आयो । ५४ मा चुनाव जिते, त्यही ज्याकेट लगाएर । मेयर भएर हरेक कार्यक्रममा झुल्किए, त्यही ज्याकेट लगाएर ।

त्यो ज्याकेटले बाँचुञ्जेल, कोटले कहिले पनि जित्न सकेन उनको जिन्दगीमा । सादा जीवन, उच्च विचारको नारा एउटै ज्याकेटमा रंगाएर बाँचे । लामो सयमसम्म एउटै ज्याकेट लगाए । २०७४ सालको एकदिन सोचे,  अव यो ज्याकेटलाई बिदा गर्नुपर्छ, कर्णालीको एक साथीलाई उपहारस्वरुप दिएर । सठाइस बर्ष पुरानो ज्याकेटमा आफ्नो दुईथोपा आँसु पनि गुटमुटाएर कर्णालीको साथीलाई उपहार दिएको दिन उनी निकै भावुक बने ।

आँखा हलुकिए, जिउ हलुकियो, तर मन एउटा सारै भारी भयो । प्रियजनले छोडेर गएको पीडानुभूति भयो ।

एक क्रान्तिकारी नेता मोहनचन्द्र अधिकारीबाट सुरु भएर, एक बाढीपिडित सामान्य जनतासम्म पुगेर टुँगिएको हीराकाजीको उक्त ज्याकेटलाई लिएर कीर्तिपुरमा एउटा प्रश्न सँधै उर्लिरहन्छ– ‘हीराकाजीको सठाइस बर्ष पुरानो ज्याकेट खोइ ?’

हीराकाजीको ज्याकेटका सबै शुभेच्छुकलाई भन्छु –जवाफ यही हो । सठाइस बर्ष पुरानो ज्याकेट फाले पनि चौवन्न वर्ष

पुरानो स्वाभिमान र आदर्श फाल्न नसकी, बोकेर बाँचिरहेका हीराकाजी महर्जनको जीवनले सिकाउँछ– आदर्श कहिले थोत्रो हुँदैन । आदर्शमा ताजगी नै रहन्छ र आदर्शको अन्त्य गरे पनि परोपकारमा सकाऊ ।

आदर्शको यो पाठलाई सप्रसङ्ग ब्याख्या गर्नु भएकोमा धन्यवाद पूर्व मेयर हिराकाजी महर्जन, जीवन बिश्वबिद्यालयका प्राज्ञलाई । आज पनि सामाजिक सञ्जालको भितामा यदाकदा देखिन्छ – त्यो ज्याकेट । मनमनै भन्छु, इतिहासको किलामा सँधै झुँन्डिरहोस त्यो ज्याकेट । अनि आदर्शको सुवास पनि छरिरहोस् । त्यो ज्याकेटको आज पनि खाँचो छ ।

(लेखक चर्चित युवा साहित्यकार एवं कीर्तिपुर नगरपालिका ९ वडा सदस्य हुनुहुन्छ ।)

Categorized in व्यक्तित्व