STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगर समितिको सभापतिमा शाक्यले दिए उम्मेदवारी

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १५, शुक्रबार

काठमाडौं १५ असोज - नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि नीलकाजी शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।

लोकतन्त्र र विधिको शासनका पक्षमा साढे ४ दशक देखि यात्रा अविचलित रही कायम गरेका शाक्यले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

शाक्य २०३३ सालमा विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिमार्फत कांग्रेस आवद्ध भएका थिए । नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष भएर जनताको सेवा दिइरहेका छन् ।

असोज १६ गते हुन लागेको महानगर अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो एजेण्डा, त्याग, तपस्या र समर्पणको कदर गर्नेमा उनले विश्वास लिएका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह देखि २०४६ सालको जनआन्दोलन हरेक राजनीतिक क्रान्तिको उभिएका उनी २०४३ सालमा राष्ट्रिय विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरीसकेका छन् ।

नेता शाक्य आरसिटी क्लवको फुटवल खेलाडी हुँदै बक्सिङ, व्याडमिन्टन र टेबल टेनिसको खेलाडी पनि हुन् ।

नेता नीलकाजी शाक्यले जारी गरेको प्रेस विज्ञप्ती

श्रद्धेय दिदीबहिनी तथा दाजुभाइ, क्षेत्रीय प्रतिनिधि ज्यूहरु, जय नेपालको हार्दिक अभिवादन।

नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि उम्मेद्वारी दिने निधो गरेको छु। लोकतन्त्र र विधिको शासनका पक्षमा मैले साढे चार दशक देखि यात्रा अविचलित रही कायम राखेको छु। हो, त्यही जप, तपको अग्निपरीक्षाका रुपमा यस उम्मेदवारीलाई लिएको छु। यही असोज १६ गते हुन लागेको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुले मेरो एजेण्डा, त्याग, तपस्या र समर्पणको कदर गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।

देश संकटमा परेको अवस्थामा २०३३ सालमा जननेता विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिले कांग्रेस प्रतिको आकर्षणले मलाई तानेको हो। त्यसपछि हरेक प्रजातान्त्रिक आन्दोलनमा मेरो सक्रियता कहिल्यै दोस्रो रहेन। त्यसमाथि लौहपुरुष गणेशमान सिंहको सामीप्य मेरो राजनीतिक जीवनको थप उर्जा ठहरियो। बिपी, गणेशमान जस्ता भाँचिने तर कहिले नदोब्रिने नेताहरुको आर्शिवाद र प्रेरणाले सतिसाल जस्तै उभिन सिकायो।

२०३६ सालको विद्यार्थी आन्दोलन होस या २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह देखि २०४६ सालको जनआन्दोलन हरेक राजनीतिक क्रान्तिको उभार बोकेका गतिविधिमा मैले मनसा, बाचा, कर्मणा कर्तव्य निर्वाह गरेको छु। २०४३ सालमा राष्ट्रिय विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरे लगतै स्थानीय चुनावमा पार्टीको तर्फबाट प्रत्यासी बनेको थिएँ। गणतान्त्रिक व्यवस्थाका लागि भएको दोस्रो जनआन्दोलनमा पनि मेरो भूमिका अग्रपंक्तिमा रह्यो। जेलनेल, यातना सवै प्रकारका भोगाइ मेरो जीवन परिपक्व बनेको छ। पदीय दायित्वको निर्वाह गर्ने क्रममा नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष भएर जनताको सेवामा समर्पित छु।

मैले राजनीतिलाई कुनै आर्थिक आम्दानीको स्रोतका रुपमा बुझेको छैन। यो कर्म मेरा लागि विशुद्ध सेवा हो। परोपकार संस्था मार्फत २०२२ साल देखि सामाजिक सेवामा निरन्तर समर्पित छु। आरसिटी क्लवको फुटवल खेलाडी हुँदै बक्सिङ, व्याडमिन्टन र टेबल टेनिसको खेलाडी भएर अनुशासित जीवन बाँचेको पृष्ठभूमि छ। जसले मलाई समय, सहकार्य र अनुशासन पालना गर्न सधैं प्रेरित गरिरहे। स्वस्थ जीवनविना स्वच्छ समाज कसरी सम्भव छ र रु जीवनका विभिन्न आयाममा चलचित्र, टेलिभिजन सिरियलमा अभिनय गरेर कलाक्षेत्रमा पनि आफूलाई परीक्षण गर्ने काम सम्पन्न गरेको छु। थुप्रै देशको भ्रमणले माटो र मुटु बुझ्न सहयोग गरेको छ। विकासका रेखा कोर्न यी सवै अनुभव उत्प्रेरक हुने विश्वास छ। रुखको छायाँमा रही जनताको सेवामा समर्पित हुने दृढ इच्छा पलाएको छ। काठमाडौं भनेको देश केन्द्र हो। देशको छायाँ यहाँको माटोमा प्रतिविम्वित हुन्छ । बदलिँदो राजनीतिक संरचना अनुसार पहिलो पटक महानगर समिति अधिवेशन हुन गइरहेको छ । यो महत्वपूर्ण साइतमा मेरो उपस्थितिलाई सगुनको घडा मानेर विजयमाला पहिर्याइ दिन सादर अनुरोध गर्दछु।

सभापतिको प्रत्यासी

नीलकाजी शाक्य

जय नेपाल

Categorized in राजनीति