STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन २९, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९-लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरेका छन्। 

वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१\८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । वडा अध्यक्ष तिवारीले ४५ लाख रुपैयाँको लागतमा खरिद गरि डिजिटल हाउस नम्बरिङको शुरुवात गरेको जानकारी दिएका छन्।

उनकाअनुसार यसअघि महानगरका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा रहेका थिए । त्यसलाई समयानुकुल परिमार्जन गरी प्रविधिमैत्री बनाउनको लागि एनएफसि चिप्स प्रविधिमा आधारित प्रणालीको शुरुवात गरेको उनको भनाई छ । उनले यस प्रणालीले शान्ति सुरक्षा कायम गर्नमा सहज पु¥याउने बताएका छन् ।

जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड राखिएको छ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाएमा क्युआर स्क्यान गरेर लोकेसनमा पुग्न सकिने उनले बताएका छन् । 

६ हजार ८ सय ५० घर संख्या रहेको वडाभित्र कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ । 

एलमुनियममा लेजरमार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । 

यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । यस्तै नम्बर प्लेटमा राखिएको क्युआर कोडबाट फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्युन लागतमा काम गर्न सकिन्छ । 

Categorized in उपत्यका